नेपाल यातयात स्वतन्त्र मजदुर संगठन जिल्ला कार्यसमिति धनकुटा १ हिलेले ४० औ स्थापना दिवस मनाएको छ । दिवसमा जेहेन्दार विद्यार्थीहरुलाई सम्मान एवं सहयोग गरेको छ ।
हिले क्याम्पसका विविएस प्रथम वर्षको परिक्षामा जिल्लाकै क्याम्पस उत्कृष्ट नतिजा ल्याएबापत पशुपति तामाङलाई नगद २५ सयसहित सम्मान गरिएको छ ।
त्यसैगरी हिले उच्च माविका कक्षा ३ देखि ८ सम्मका ८ जना विद्यार्थीहरुलाई जनही नगद ११ सय सहयोग प्रदान गरियो ।
स्वर्गीय सुमन दर्जीको परिवारलाई १० हजार रुपैया आर्थिक सहयोग गरेको छ ।
कार्यक्रममा मजदुर संगठनका प्रदेश १ सदस्य मोहनकुमार श्रेष्ठले संगठनको गतिविधिबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
यसैगरी जिल्ला समन्वय समिति धनकुटाका सदस्य वाङदी थिङ तामाङले राज्यले ज्याला वृद्धि एवं श्रमिकहरुको जीवन सुनौलो बनाईदिएको बताए ।
धनकुटा नगरपालिका–१ का वडाध्यक्ष निरेन तामाङले मजदुरहरु देशको महत्वपूर्ण अंग भएकोले उनीहरुले ८ घण्टा कामको व्यवस्थाबाहेक अरु बोझ दिन नहुने बताए ।
श्रमिकहरुको अन्याय अत्याचारको विरुद्धमा श्रम ऐन २०७४ लागु भइसकेकोले यसको पूर्ण कार्यान्वयन हुनुपर्छ, नेकपा धनकुटाका जिल्ला सदस्य नारायण तामाङले बताए ।