म्यान्माका राजदूतद्वारा स्वयम्भूको दर्शन

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
21 Shares
काठमाडाै

नेपालका लागि म्यान्माका राजदूत यु मायो माइन्ट माउङ्गले आज बिहान विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ चैत्यको दर्शन एवं पूजाआजा गरेको छ ।

राजदूत माउङ्गसहित म्यान्माका राजगुरू सिकागो सायदोले आज स्वयम्भूसहित आसपासका सम्पदाको अवलोकन गरी विधिपूर्वक चैत्यको पूजाआजा गरेको हो । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले उनिहरूलाई स्वागत गर्दै सम्मान गरेको छ ।

महासमितिका अध्यक्ष महास्थवीर भिक्षु धर्ममूर्तिले ऐतिहासिक पक्षका साथै धार्मिक गतिविधिबारे उनलाई जानकारी गराउँदै बौद्ध साहित्य एवं दर्शनलाई अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न महासमितिले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

राजगुरू सायदोले विश्वशान्ति तथा मानव कल्याणका लागि बौद्ध शिक्षाको महत्व रहेकाले ती साहित्य तथा दर्शनको प्रवर्द्धनमा जोड दिने बताउँदै पवित्र तीर्थस्थलको अवलोकन गर्न पाएकोमा खुसी व्यक्त गरे ।

महासमितिका सचिव चन्द्ररत्न बुद्धाचार्यले विशेषगरी विभिन्न धार्मिक गतिविधि गरिने उक्त स्थलमा हिनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले आस्था प्रकट गर्ने जानकारी दिए । उनले विभिन्न मुलुकका कूटनीतिक नियोगबाट गरिने भ्रमणले अन्तर्राष्ट्रिय तहमा सकारात्मक सन्देश प्रवाह भएर धार्मिक पर्यटनमा अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा महासमितिले विभिन्न प्रकाशनसहित उनिहरूलाई उपहार प्रदान गरेको थियो ।

तपाईको प्रतिक्रिया