दोलखाको मेलुङ गाउँपालिकाका वडा नम्बर ७का कृषकहरू हाते ट्याक्टर पाएपछि उत्साहित बनेका छन् । मेलुङ गाउँपालिकाको वडा नम्बर ७को ५० प्रतिशत र कृषक ५० प्रतिशत लागत साझेदारी अनुदानमा वडाका २२ कृषकहरूलाई हाते ट्याक्टर वितरण गरेपछि कृषक उत्साहित बनेका हुन् ।
गाउँपालिका वडा नम्बर चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार उक्त वडामा दर्ता भएका कृषक समूह र कृषकहरूलाई २२ कृषकहरूलाई हाते ट्याक्टर वितरण गरिएको वडा अध्यक्ष नवराज खड्काले जानकारी दिए । खड्काले वडाले कृषक र कृषिमैत्री गतिविधि तथा कार्यक्रमहरूलाई बढवा दिँदै आएको बताए । गाउँघरमा गोरु पाल्ने चलन हराएर जान थालेको र खेतबारी जोत्न समस्या भएको अवस्थामा वडा कार्यालयले अनुदानमा हाते ट्याक्टर दिएपछि राहत मिलेको कृषक पातली थापाले बताए ।
दोलखामा पछिल्लो समय खेती किसानीको काममा परम्परागत रूपमा गोरुले खेतबारी जोत्ने चलन हराएको छ भने हाते ट्याक्टरलगायतका यान्त्रिक उपकरणको प्रयोग बढ्दो छ । हाते ट्याक्टरले छोटो समयमा धेरै खेतबारी जोत्न सकिने भएकाले समयको बचत हुने र गोरु पाल्नुपर्ने झन्झट नहुने अर्को कृषक रामहरि चापागाईँले बताए ।
सडक सञ्जालको पहुँच विस्तार भएसँगै जिल्लाको ग्रामीण भेगमा खेतबारी जोत्ने काममा हाते ट्याक्टरको प्रयोग बढ्दै गएको छ। कृषकको माग र आवश्यकताको आधारमा सामग्री खरिद गरेर वितरण गरिएको हो। आधुनिक प्रविधिको प्रयोगले कृषि उत्पादन बढ्नुका साथै कृषकलाई छिटो र सहज समेत हुने भएकाले कृषकहरू प्रविधि तर्फ आकर्षित हुन थालेका छन्।