तामाङ पत्रकार सङ्घ काठमाडौँ जिल्लाको चौथो अधिवेशन, काठमाडौँ तामाङ मिडिया अवार्ड र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
शनिवार तामाङ अध्ययन प्रतिष्ठानको सभा हलमा सम्पन्न अधिवेशनबाट हिरोज लोप्चनको अध्यक्षतामा ११ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा किशोरी लामा, सचिवमा रोशन लामा, सहसचिवमा रामबहादुर तामाङ र कोषाध्यक्षमा सुशीला तामाङ निर्वाचित भएका छन् ।
सदस्यहरूमा सीमा तामाङ, रीना मोक्तान, वीरमान बललगायत रहेका छन् ।
निर्वाचन मण्डका अध्यक्ष प्रतीक ङेसुर तामाङका अनुसार सबै कार्यसमितिका पदाधिकारी सर्वसम्मत चयन भएको जानकारी दिए ।
त्यस्तै काठमाडौँ तामाङ मिडिया अवार्ड २०८१ बाट रीना मोक्तान, तामाङ पत्रकार सङ्घ काठमाडौँ शाखाका संस्थापक अध्यक्ष युनिकरक्षे ग्लान र रेडियो सिन्धुकर्मी अस्मी स्याङ्तानलाई सम्मान प्रदान गरिएको छ ।
भाषाविद् तथा तामाङ राष्ट्रिय पुस्तकालयका अध्यक्ष अमृत योन्जन, शाखाका अध्यक्ष सन्तोष योन्जन तामाङ, नेपाल तामाङ घेदुङका कार्यवाहक अध्यक्ष सन्चु ब्लोन तामाङ, लेखक प्रतीक ङेसुर, लेखक तथा अनुसन्धाता रवीन्द्र तामाङ लगायतको उपस्थितिमा रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले तीन जनालाई सम्मान पत्र प्रदान गरिएको हो ।
रेडियो नेपालका कार्यकारी निर्देशक लामाले सम्पूर्ण समुदायका पत्रकारहरूले समाचार लेखनमा सांस्कृतिक, भाषिक, भूगोललाई जोडेर लेख्नुपर्ने बताएका छन् ।
कार्यक्रममा लेखक ङेसुर, खोजराज गोले, तामाङ पत्रकार सङ्घ बागमती प्रदेशको अध्यक्ष अर्जुन पाख्रिन, नेपाल तामाङ कलाकार सङ्घका अध्यक्ष तथा सेलो गायक विशाल काल्तान, अध्यक्ष योन्जन लगायतकाले सम्मानित सबैलाई बधाई दिँदै तामाङ पत्रकारिताको विस्तार र विकासका लागि शुभकामना दिए ।