रसुवा जिल्लाको कालिका गाउँपालिका, वडा नं ५ गैरीनागीको तप्लोमा अवस्थित रमिते ढुङ्गो एक पर्यटकीय आकर्षणको रूपमा रहे तापनि खोजीनिती र प्रचारप्रसारको अभावले आजसम्म अोझेलमा परेको छ ।
पासाङल्हामु राजमार्गको स्याउबारी–गोम्बोडाँडाबाट नजिकै रहेको भए पनि कुवाको भ्यागुता झैँ आन्तरिक तथा बाह्य पर्यटकको पर्खालमा रहेको यस ठाउँ साँच्चिकै रमिता देखिने भएकोले पनि रमिते ढुङ्गो भनिएको स्थानीयहरू बताउँछन् ।
यहाँबाट वरपरका दृश्य हेर्दा हेलिकप्टरबाट हेरिरहेको छु भन्ने आभास दिलाउँछ । सूर्योदय तथा सूर्यास्तको दृश्य पनि मनोरम देखिने यस स्थानबाट नौकुण्डस्थित सात धारे, यार्सा, सरमथली, खाल्चेत, चिति, रूप्सेपानी, जिबजिबे, भदटरे, कालिकास्थान, धारापानी, डाँडा गाउँ, ठूलोगाउँदेखि नुवाकोटको लच्याङ, लिखु, बागेश्वरी, महभीर, कुवापानी, केराघारी, त्रिशूली, कोलोनीदेखि धादिङसम्म र ककनी, शिवपुरी चिसापानीसम्मका दृश्यहरू का साथै यसका वरपरबाट गणेश हिमाल पनि देख्न सकिन्छ ।
पर्यटकीय विकासका लागि विभिन्न स्थानमा भ्यूटावर बनाउने जस्ता कार्यहरू भइरहँदा आफैँमा भ्यूटावर बनिरहेका, न डिपिआर चाहिन्छ, न उपभोक्ता समिति चाहिन्छ, न २/४ लाखको बजेट नै चाहिन्छ, यस्ता स्थलहरूको पहिचान गरी पर्यटकीय पूर्वाधार व्यवस्था गर्न सके पक्कै पनि आन्तरिक तथा बाह्य पर्यटन विकासमा सहयोग पुग्छ ।
लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको यस स्थानमा पुग्नका लागि स्याउबारी वा गोम्बोडाँडा वा जिबजिबे हुँदै मुडुल्लीभञ्ज्याङ–सिङ्गी लामा च्यानडाँडाबाट सिधै पैदल मार्ग छ र लोँकिल भूमेस्थानबाट राम्चे सुधारोन्मुख सडक मार्गको प्रयोग गरेर यहाँ पुग्न सकिन्छ । यहाँबाट २ वा ३ घण्टाको हिँडाइमा प्राकृतिक अर्को भ्यूटावर जुरेढुङ्गा अर्थात् सिप्पुङ पुग्न सकिन्छ ।यहाँबाट नै अर्को नव पर्यटकीय गन्तव्य बिजिङ जोङ्ग अर्थात् बिजुली ढुङ्गा पुग्न सकिन्छ ।