गाईको संरक्षणको माग गर्दै विश्व हिन्दू महासङ्घ नेतृत्वको टोलीले मंगलबार जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापनपत्र बुझाएको छ । टोलीले कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
कास्कीलगायत स्याङ्जा, पाल्पा र गुल्मी जिल्लाबाट गाई गोरु सङ्कलन गरी बिक्री गर्न लैजान लागेको अवस्थामा आइतबार राति २१ वटा गाई गोरुसहित ट्रक नियन्त्रणमा लिइएको थियो । ट्रकमा राखेर निर्यात गरिँदै गरेको अवस्थामा पोखरा महानगरपालिका गगनगौडा प्रहरी चौकीले २१ वटा गाई गोरु नियन्त्रणमा लिएको थियो ।
विश्व हिन्दू महासङ्घमा आबद्ध प्रतिनिधिले खोजी गर्दा पोखरा- ३३ का भीमबहादुर नेपालीले ती जिल्लाका सडकमा छाडिएका गाई गोरु सङ्कलन गरी विदेशमा मासुका लागि बिक्री गर्ने गरेको पाइएको महासङ्घका केन्द्रीय उपाध्यक्ष शङ्कर खरालले आरोप लगाए ।
प्रहरीद्वारा नियन्त्रणमा लिइएको गाईगोरु प्रहरी र विश्व हिन्दू महासङ्घका प्रतिनिधिको सक्रियतामा पोखरा- १४, बाच्छेबुडुवास्थित काञ्जीहाउसमा लगेर राखिएको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी केसीले घटनाका सम्बन्धमा आवश्यक छानबिन गरी दोषीलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।