तामाङ पत्रकार सङ्घको सातौँ महाधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। सङ्घको ७ औँ महाधिवेशन काठमाडौँको होटेल एयरपोर्टमा हुने तय गरिएको छ।
महाधिवेशनको बारेमा जानकारी दिँदै अध्यक्ष सुवास योन्जनले सम्पूर्ण तयारी पूरा भएको बताए । उनले प्रदेश, प्रवास शाखा र जिल्ला शाखाहरूको अधिवेशन पूरा गरेर महाधिवेशनको तयारी पूरा भएको बताए ।
पत्रकारिता क्षेत्रमा क्रियाशील तामाङ समुदायका सदस्यहरूको सङ्गठित आवाजको रूपमा रहेको यो सङ्घले हरेक ३ वर्षमा महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्नेछ ।
प्रदेश, जिल्ला शाखाहरू र प्रवास शाखाहरूको मङ्सिर २५ सम्म अधिवेशनको समय तोकिएको थियो, सोही निर्देशन अनुरूप नै निर्धारित समयमा नै सबैले अधिवेशन सम्पन्न गरी केन्द्रको तयारी पूरा गरेको महासचिव तीर्थमान बलले जानकारी दिए ।
अबको अध्यक्ष को ?
यस पटकको महाधिवेशनमा अध्यक्ष पदका लागि चार जनाको दाबेदार रहेको जनाइएको छ । अध्यक्षका प्रत्याशीहरूमा वरिष्ठ उपाध्यक्ष बुद्ध योन्जन र उपाध्यद्वय नेत्र तामाङ र विश्वराज तामाङ, महासचिव तीर्थमान बलको प्रतिस्पर्धा रहेका छन्। सबै उम्मेदवारले आफ्ना-आफ्ना एजेन्डा अघि सार्दै सङ्घलाई थप प्रभावकारी बनाउन दृढता व्यक्त गरेका छन्।
यस्तै बुद्ध योन्जनले सङ्घलाई बलियो बनाउन, अहिलेको कार्य योजनालाई निरन्तरता दिन अध्यक्षको दाबेदार रहेको बताएका छन् ।
नेत्र तामाङले सङ्घको संरचनात्मक विकास, पत्रकारहरूको सुरक्षाको प्रत्याभूति र तामाङ समुदायका विषयवस्तुहरूलाई प्राथमिकताका साथ सञ्चारमाध्यममा प्रस्तुत गर्ने विषयलाई मुख्य एजेन्डा बनाएका छन्।
यस्तै विश्वराज तामाङले तामाङ पत्रकारहरूको पेसागत क्षमता अभिवृद्धि, सामुदायिक मुद्दाहरूको सशक्त सञ्चारमाध्यममा प्रचारप्रसार र मिडिया संस्थासँग समन्वयको माध्यमबाट अवसर सिर्जना गर्न उम्मेदवारी दिएको बताए ।
यसै गरी महासचिव रहेका तीर्थमान बलले सङ्घको आन्तरिक संरचनाको सुदृढीकरण, सङ्घका गतिविधिलाई डिजिटल माध्यममा लैजाने र प्रदेशस्तरीय शाखाहरूलाई सशक्त बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
महाधिवेशनमा सङ्घका सबै प्रदेश तथा जिल्ला शाखाका प्रतिनिधिहरू सहभागी काठमाडौँ आइसकेका छन् ।
सङ्घले यस महाधिवेशनलाई ऐतिहासिक बनाउनका लागि उच्चस्तरीय तयारी गरेको जनाएको छ। कार्यक्रममा सङ्घका वार्षिक प्रतिवेदन प्रस्तुत गरिनुका साथै विभिन्न विषयगत छलफल र नयाँ नेतृत्व चयन हुनेछ।
महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै सङ्घले आगामी दिनमा पत्रकारिताको क्षेत्रमा थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।