घोराही दाङ यहाँको घोराही उपमहानगरपालिका–१२ हापुरका जयबहादुर रोकाको बारीमा यतिबेला लटरम्मै टमाटर पाकेको छ । बारीबाटै टमाटर बिक्री गर्न भ्याइनभ्याइ छ । विगत तीन वर्षदेखि व्यावसायिक टमाटरखेती गर्दै आएका रोका व्यवसायप्रति सन्तुष्ट छन्।
भाउ पाएको समयमा उत्पादन गर्न सके टमाटरबाट राम्रो आम्दानी हुने उनले बताए । “यस वर्ष समयमै उत्पादन गरेकाले बजारको समस्या छैन”, उहाँले भन्नुभयो, “यही खेतीलाई निरन्तरता दिने सोचमा छु ।” रोल्पा रुन्टिगढी गाउँपालिका–७ बाट यहाँ बसाइँ सरी आउनुभएका रोकाले रोल्पाकै एक सामुदायिक विद्यालयमा सात वर्ष कर्मचारीका रुपमा काम गरे। उनले१० वर्ष वैदेशिक रोजगारीमा मलेसिया बसेर फर्केको हो । हाल उनले टमाटर बिक्री गरेरै खर्च कटाएर वार्षिक सात लाख रुपैयाँ बचत गर्न सफल भएको छ ।
वार्षिक १८ लाख रुपैयाँको टमाटर बिक्री गरे पनि मल, बीउ, कामदार, जग्गा भाडालगायत सबै खर्च कटाएर त्यति बचत हुने गरेको उनको भनाइ छ । “१० जनालाई रोजगारी दिएको छु”, रोकाले भने, “पहिले रोल्पामा पनि कृषि व्यवसाय गरेको थिएँ तर सडकको अवस्थाका कारण बजारीकरणमा समस्या थियो ।”
मङ्सिरसम्म थोकमा प्रतिकिलो ५० रुपैयाँका दरले बिक्री गरेको र हाल भाउ घट्दै गएको उनले बताए । उनले तीन बिघा जग्गा भाडामा लिएर टमाटरखेती गरेको छ । आफ्नो साढे १२ कट्ठा मात्रै जग्गा भएकाले बाँकी जमिन भाडामा लिएको उनले बताए। जग्गाको वार्षिक भाडा ९८ हजार रुपैयाँ तिर्ने गर्को छ । परिवारमा आठ सदस्य छन् । टमाटरखेतीकै कमाईले छोराछोरीलाई शिक्षादीक्षा गराइरहेको छ । गत वर्ष रोग, किराले टमाटर उत्पादन केही ढिला हुँदा घाटा व्यहोरेको भए पनि यस वर्ष आम्दानी सन्तोषजनक रहेको उनले बताए ।