सिन्धुपाल्चोकको प्रसिद्ध गुफा डाँडामा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन २०८१ सम्पन्न भएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले सम्बोधन गर्दै विकसित देशहरूले विकासको नाममा जथाभाबी गर्नाले पृथ्वीमा विनाश निम्तिएको बताए । ‘उद्योग, कलकारखाना, सडक निर्माण लगायतका विकासका कामहरू गर्दा अनिवार्य रूपमा वातावरणीय प्रभाव मुल्याङकन गर्नुपर्छ‚ मुख्यमन्त्री लामाले भने‚‘ती कुराहरू कागजमै मात्र सीमित र कार्यान्वयन नहुँदा समस्या निम्तिएको हो ।’
यस्तै कार्यक्रममा पूर्वमन्त्री तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य शेरबहादुर तामाङले यो सम्मेलन निरन्तर गर्न जरुरी रहेकोमा नगरपालिकाले अपनत्व लिएकोमा धन्यवाद दिए । उनले मेलम्चीबाट ज्यामिरे हुँदै गुफा जाने बाटो प्रदेशले बनाउनुपर्ने बताए । सडक कालोपत्रे भएसँगै गुफाडाँडालाई सुन्दर हरियाली चिया बगान बनाउन सकिने बताए ।
सम्मेलनमा नेपाललगायत विभिन्न देशका जलवायु विज्ञ, अनुसन्धानकर्ता, वातावरणविद्, तथा सरकारी र गैरसरकारी सङ्घ-संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए।
‘जलवायु परिवर्तनको प्रभाव र समाधानका उपायहरू’ विषयमा केन्द्रित यो सम्मेलनले स्थानीय तथा अन्तर्राष्ट्रिय स्तरमा वातावरणीय सचेतना बढाउन महत्त्वपूर्ण योगदान दिएको छ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले बागमती प्रदेशमा सबैभन्दा धेरै क्षति सिन्धुपाल्चोकमा भएको बताए ।
सम्मेलनमा जलवायु परिवर्तनका असरहरू, हिमालय क्षेत्रका पग्लिँदै गरेका हिमनदीहरू, पानीको स्रोतहरूको संरक्षण, तथा नवीकरणीय ऊर्जा प्रविधिको विकास जस्ता विषयमा विशेष प्रस्तुति र छलफल भएको थियो। स्थानीय समुदायका प्रतिनिधिहरूले जलवायु परिवर्तनका कारण आफ्नो जीवनमा परेको असरबारे अनुभव साझा गरे।
बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले जलवायु परिवर्तनले रैथाने बाली नास बताउँदै जलवायु परिवर्तनले नै धेरै विपत्ति निम्तिएको बताए ।
मेलम्ची नगरप्रमुख आइतमान तामाङले प्रदेशसँग ७०/३० प्रतिशतमा काम गर्न तयार रहेको बताए । जलवायु सम्मेलन मार्फत विश्व समुदायलाई सन्देश दिनुका साथै रोकथाम तथा न्यूनीकरणका उपायको विषयमा खोजी गर्ने उनले जोड दिए । उनले आगामी दिन प्रत्येक वर्ष जलवायु सम्मेलन आयोजना गर्नुका साथै अझ प्रभावकारी बनाउने बताए ।
गुफा डाँडा क्षेत्रको पर्यटन प्रवर्द्धन र जलवायु सचेतनाको सन्देश फैलाउने उद्देश्यले यो सम्मेलनले दीर्घकालीन प्रभाव पार्ने विश्वास गरिएको छ।