बागमतीले ४१ करोडको बजेट प्रस्तुत

ललितपुर

बागमती गाउँपालिकाको आर्थिक वर्ष २०७६।०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले सोमबार ४१ करोड २ लाख ३८ हजारको बजेट प्रस्तुत गरेका छन् ।

गाउँपालिकाको पाँचौं गाउँसभामा प्रस्तावित शिर्षक बजेट, योजना तथा कार्यक्रम पेश गरेका हुन् । संघीय, प्रदेश सरकार, आन्तरिक स्रोतबाट जम्मा हुने गरी अनुमानित आय प्रक्षेपण गरी बजेट प्रस्तुत गरेका हुन् । जसमा अनुमानित पूँजीगत खर्चतर्फ ३५ करोड २४ लाख २८ हजार र अनुमानित चालु खर्चतर्फ ५ करोड ७८ लाख रहेको छ ।

संघीय सरकारको वित्तीय अनुदानबाट ७ करोड ६ लाख, राजस्व बाँडफाँडबाट ५ करोड १३ लाख, प्रदेश सरकारको राजस्व बाँडफाँड १ करोड ४४ लाख, प्रदेश वित्तीय समानीकरणबाट ८९ लाख प्राप्त हुने भएको छ ।

त्यसैगरी रजिष्ट्रेशन दस्तुरबाट ५० लाख, आन्तरिक स्रोतबाट २ करोड २६ लाख, जिल्ला समन्वय समितिबाट प्राप्त हुने मौज्दात कोषको रकम ४ करोड प्राप्त हुने अनुमान गरिएको सभामा प्रस्तुत गरिएको छ ।

त्यस्तै संघीय र प्रदेश सरकारबाट सशर्त प्राप्त हुने १८ करोड १५ लाख ३८ हजार तथा आर्थिक वर्ष २०७५÷०७६ बाट बाँकी हुन आउने रकम ८९ लाख यो आर्थिक वर्षमा जम्मा हुने प्रक्षेपण गरिएको छ ।

अघिल्लो वर्ष बजेट प्रस्तुत गर्दा गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको भएपनि अहिले कृषि र पर्यटन दुवैलाई प्राथमिकतामा राखी बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिकाले अघिल्लो वर्षकै कार्यक्रम अन्तर्गत जनतासँग अध्यक्ष कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । त्यसैगरी गाउँपालिकाले स्थानीयस्तरमा विकास निर्माण, कृषि, शिक्षा लगायत क्षेत्रमा कलम चलाउने स्थानीय पत्रकारलाई सम्मान गर्ने कार्यक्रम अघि सारेको छ।

गाउँपालिकाले उपाध्यक्ष महिला सशक्तिकरण, एकल पुरुष भत्ता, जनजाति उत्थान कार्यक्रमलाई प्राथमिकता दिएको छ । यसवर्ष जग्गा खरिद गरेको गाउँपालिकाले आगामी वर्षमा भवन निर्माणलाई बजेट छुट्याएको छ । पर्यटन विकास कार्यक्रम अन्तर्गत राडर क्षेत्रलाई विशेष प्राथमिकतामा राखी काम अघि बढाउने गरी बजेट छुट्याएको छ ।

गाउँपालिकाले माझखण्डको रुद्रेश्वर महादेव मन्दिर निर्माण गर्न बजेटलाई प्राथमिकतामा राखेको छ। विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि विद्यालय सुधार कार्यक्रम अघि सारेको छ ।

खेलकुद विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाले अध्यक्ष कप खेलकुद प्रतियोगिता गर्न बजेट छुट्याएको छ ।

गाउँपालिकाले सडक निर्माण गर्न, बाँकी रहेका वडा र गाउँका लागि सडक निर्माण तथा स्तरउन्नती गर्न बजेट छुट्याएको छ। बागमती गाउँपालिकालाई कृषि र पर्यटनको हिसावले चिनाउने उद्देश्यले कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी बजेट ल्याइएको गाउँपालिकाका अध्यक्ष लोप्चनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका