गाउँमै समृद्धि: श्याम पाख्रिनको प्रेरक कथा

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
665 Shares
धुन्चे, रसुवा

रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका वडा नम्बर ४, दनुस्वांरा निवासी श्याम वहादुर पाख्रिनको जीवन कथा विदेशमा श्रम गर्न गएका धेरै नेपालीहरूको जीवन यात्रासँग मेल खान सक्छ। तर, उनी अन्य प्रवासीहरूभन्दा फरक छन्। विदेशको अनुभवलाई आधार बनाएर आफ्नै गाउँमा दिगो आयमूलक व्यवसाय स्थापना गरेर उनले आजको दिनमा वार्षिक ६ लाख रुपैयाँ आम्दानी गर्ने सफल किसानको परिचय बनाएका छन्।

गरिबी र आर्थिक संकटका कारण श्याम तीन वर्ष मलेसियामा श्रम गर्न गएका थिए। त्यहाँको कठिन जीवनले उनलाई आफ्नो गाउँ फर्केर केही गर्नुपर्छ भन्ने दृढ निश्चय गरायो। २०७२ सालमा उनी विदेशबाट फर्किएर आफ्नै गाउँमा सानो किराना पसल खोलेर  श्रीमतीलाई वसाए र आफुले  कुखुरा पालन र अन्य व्यवसाय सुरु गरे।

उनले सुरुवातमा गरेको कुखुरा पालन र पसल व्यवसायमा कोरोना महामारीका कारण ठूलो घाटा व्यहोर्नुपर्‍यो। तर, उनी निराश भएनन्। २०७४ सालमा नेपाल कृषि वन प्रतिष्ठान र एसिया संस्थाको सहयोगमा सुरु गरेको कफि खेतीलाई पुनः सञ्चालन गर्ने निर्णय गरे।

२०७६ सालमा ‘सुनौलो एकीकृत कृषि तथा पशुपन्छी फर्म’ आधिकारिक रूपमा दर्ता गरेर उनी आफ्नो व्यवसायलाई विधिवत रूपमा अघि बढाउन लागे। हाल उनको फर्ममा दुई माउ बाख्राबाट सुरु गरेको बाख्रा पालनले साना(ठूला गरेर ४५ वटा बाख्रामा विस्तार पाएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ५० प्रतिशत अनुदान सहयोगबाट आधुनिक बाख्रा खोर निर्माण गर्न सकेपछि उनको बाख्रा पालन व्यवसाय थप व्यवस्थित र लाभदायक भएको छ।

श्यामले आफ्नै ५ रोपनी जग्गामा ५०० भन्दा बढी कफिका बोट लगाएका छन्। साथै, एक रोपनीमा ५० बोट कागती पनि लगाएका छन्। यस्ता आयमूलक खेतीबालीले उनलाई दिगो आयको सुनिश्चितता दिएको छ।

उनले मात्र आफ्नो व्यवसायलाई अघि बढाएका छैनन्स स्थानीय सरकार र विभिन्न संघ(संस्थाको सहयोगमा गाउँका अन्य किसानलाई पनि आधुनिक खोर निर्माण र उन्नत जातका बाख्रापालनतर्फ उत्प्रेरित गरिरहेका छन्।

नौकुण्ड गाउँपालिका प्रमुख नुर्वुसाङ्वो घले भन्छन्, ‘श्यामको मेहनत र समर्पण प्रेरणादायी छ। उनले देखाएको बाटो पछ्याउन सके धेरैले विदेश जानु पर्दैन।’ वडा नम्बर ४ का वडा अध्यक्ष ज्ञानी वाईवाका अनुसार, ‘श्यामले कृषि पेशालाई आत्मनिर्भर बनाउने उदाहरण प्रस्तुत गरेका छन्।’

आफ्नो सीप र परिश्रमलाई गाउँकै विकास र समृद्धिका लागि लगानी गर्ने श्याम पाख्रिनजस्ता किसानहरू समाजका वास्तविक नायक हुन्। उनीजस्तै प्रत्येक नागरिकले आफ्नो क्षेत्रमा केहि योगदान दिन सक्यो भने नेपालका गाउँहरूले आत्मनिर्भरता र समृद्धितर्फ ठूला कदम चाल्नेछन्।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
1
+1
0

तपाईको प्रतिक्रिया