तामाङ पत्रकारिताको प्रवर्द्धन र संरक्षणमा नेत्र तामाङको नेतृत्व (भिडियो अन्तर्वार्ता)

काठमाडौं

नेत्र तामाङ पत्रकार हुन्। २०६३ मा राष्ट्रिय समाचार समितिबाट पत्रकारिता थालेका उनले त्रिविबाट आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका छन्।

बाल साहित्यमासमेत सक्रिय तामाङको सिर्जनामा हालसम्म २० वटा बाल चित्रकथा पुस्तक प्रकाशन भइसकेको छ। कक्षा ५ को नेपाली पाठ्यक्रममा उनले सिर्जना गरेको बाल कथा जम्बियाङको जन्मदिन समावेश गरिएको छ ।

तामाङ इतिहास संरक्षण र प्रवर्धनमा विशेष रुचि राख्ने तामाङ अमेरिकाको हवाईस्थित इस्टवेस्ट सेन्टरको एपीएलपी फेलोसमेत हुन्। खोज पत्रकारिताका लागि युएईको दुबईसम्म पुगेका उनी अनुसन्धानमुलक पत्रकारितामा रुचि राख्छन्।

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-४ नवलपुरका उनी हालै सम्पन्न तामाङ पत्रकार संघको सातौं महाधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन भए। यसै सन्दर्भमा सैलुङअनलाइन पोडकाष्टमा तामाङसँग तामाङ समुदायको पत्रकारिता र तामाङ पत्रकार संघको भावी कार्ययोजनाबारे गरिएको कुराकानी:

सर्वप्रथम यहाँलाई बधाई एवं कार्यकाल सफलताको शुभकामना !

लामो रस्साकस्सीपछि सर्वसम्मत चयन हुन सफल भएँ। यसका लागि दुबै प्रदेश कार्यसमिति, २३ जिल्लाका कार्यसमिति र दक्षिण कोरियाको प्रवास कार्यसमितिका साथीहरु र  सम्पूर्ण तामाङ पत्रकार साथीहरुलाई धन्यवाद !
तामाङ पत्रकार संघको सातौं अधिवेशनबाट यहाँ अध्यक्षमा निर्वाचित हुनुभयो । कस्तो महशुस गरिरहनुभएको छ ?

नेतृत्वमा आएपछि जिम्मेवारी बढेको छ। तामाङको मुद्दाहरुलाई कसरी अगाडि बढाउने भनेर अध्ययनसहित अगाडि बढ्ने चुनौति महसुस गरिरहेको छु ।

तामाङ पत्रकार संघलाई अगाडि बढाउन यहाँले के कस्ता योजना तथा कार्यक्रमहरू अगाडि सार्दै हुनुहुन्छ ?

साथीहरुले जसरी पत्याएर मलाई अगाडि बढाउनुभयो। यसअघिका कार्यसमितिका अपूरा योजनाहरु पनि छन् । लेखक रविन्द्र तामाङको नेतर्त्वमा स्थापना गरिएको तामाङ पत्रकार संघ जुन उद्देश्यले स्थापना  भएको छ – यसअघिका अध्यक्षहरुले तामाङ पहिचानका मुद्दालाई स्थापित गर्नालाई जुन किसिमको मार्गनिर्देश गरिएको छ ।  यसलाई निरन्तरता दिँदै अबको दिनमा तामाङ, भाषा, संस्कृति, भेषाभूषा र पहिचानका मुद्दालाई अघि बढाउनुपर्नेछ ।

यहाँले सड्ङ्घको अध्यक्षमा निर्वाचित भएपछि सपथ ग्रहणको क्रममा तामाङ भाषा, धर्म, संस्कृतिका मुद्दाहरूलाई जोडदरकासाथ उठाउने प्रतिबद्धता जनाउनु भएको छ । यसलाई अझ विस्तारमा बताईदिनुहोस् न।

जस्तो न्यौपाने कोइराला थरका साथीहरुले ठट्टा गर्दै हामी पनि न्यौपाने पत्रकार संघ खोलौ कि भन्नुहुन्छ। हाम्रो कोइरालाको त पत्रकार संघ छैन भन्नुहुन्छ। तर उहाँहरुको मुद्दालाई राज्यले बोकिदिएको छ । तामाङको मुद्दालाई राज्यले लगानी गरिदिएको छैन। भाषा, संस्कृति, शिक्षामा राज्यको लगानी छैन । तामाङहरुले राज्यलाई कर तिरिरहेको छ। तर तामाङ भाषामा राज्यले लगानी गरिरहेको अवस्था छैन। तामाङ पनि राज्यकै भाषा हो नि हैन? त्यसैले यी मुद्दालाई स्थापित गर्न संस्था प्रतिबद्ध भएर लाग्नेछ।

तामाङहरुले उठाएको मुद्वालाई किनारा लगाउने अवस्था चाहि के कस्तो छ ?

पत्रकारको पहिलो धर्म भनेको प्रश्न गर्ने हो । एउटा मुद्वा किनारा लागेपछि अर्को मुद्वातिर लाग्नुपर्ने हुन्छ । पछि एउटा उपलब्धी भनेको बागमती प्रदेशले तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाइदियो । त्यो एउटा उपलब्धी हो । तर भाषामा राज्यको लगानी छैन ।  नेपाली भाषामा रासस, गोरखापत्र, नेपाल टेलिभिजन, रेडियो र अनलाइनमा लगानी छ तर मातृभाषाको पत्रपत्रिका अनलाइनमा राज्यको लगानी छैन । तामाङ भाषाका लागि यस्ता संस्था पनि त छैन नि।

 राससले अरु भाषाभाषीलाई स्थान दिइरहेको अवस्था छ तर हाम्रो भाषालाई स्थान नपाउनु भनेको तामाङ पत्रकारहरु त्यहाँसम्म नपुगेको हो ? त्यो बिचको दूरी किन टाढा भयो ?

हाम्रोलाई राज्यले वेवास्ता गरेको हो नि। त्यो त प्रष्टै देखिन्छ।

तामाङ पत्रकार संघ सातौं अधिवेशनसम्म आइपुग्दा तामाङ पत्रकारहरुको सङ्ख्या धेरै बढेका छन् । उहाँहरूलाई सङ्गठित गर्ने र सङ्घलाई अझ सङ्गठित र व्यवस्थित रूपमा अघि बढाउन के गर्दै हुनुहुन्छ ?

तामाङ पत्रकार संघमा तामाङ पत्रकारहरु धेरै हुनुहुन्छ । नेपाल पत्रकार महासंघमा हेर्ने हो भने धेरै छन् । यसमा तामाङ पत्रकार संघ भनेको खेत जस्तो हो । यो हराभरा बनाउनका लागि सबैजना लाग्नुपर्छ । त्यसको लागि राज्य र अन्तराष्ट्रिय निकायहरुको लगानी आवश्यक छ र तामाङ समुदायका नेतृत्वमा रहेकाहरुलाई लिंक गर्न सकियो भने पक्कै आकर्षित ठाउँ हुन्छ । रस भरिएपछि सबैको केन्द्र बन्छ । यस्तै बनाउने प्रयास हाम्रो कार्यसमितिले गर्नेछ ।

नेपालका सबै पत्रकारहरूको साझा सङ्गठन नेपाल पत्रकार महासङ्घसँग तामाङ पत्रकार सङ्घलाई जोड्ने बारे यहाँले केही सोच्नु भएको छ ? या यसबारे यहाँको के धारणा रहेको छ?

पक्कै पनि आकर्षक ठाउँ बनाउनका लागि त्यसमा लगानी चाहिन्छ । जसरी यसपाली अध्यक्ष बनाउनका रस्साकस्सी भएको थियो । रस भएको ठाउँमा मौरी जान्छ। रसिलो बनाउनुपर्छ ।

नेपाल प्रेस काउन्सिलले समपरिक्षण मूल्याङ्कन राष्ट्रिय स्तरका पत्रपत्रिका र मातृभाषाका पत्रपत्रिकाहरू एउटै वास्केटमा राखेर मूल्याङ्कन गर्दै आइरहेको छ । मातृभाषाका पत्रकारहरूले मातृभाषी पत्रिककाहरूलाई अलगै अर्को बास्केटमा राखेर मूल्याङ्कन गरिनु पर्दछ भन्ने कुरा पनि उठिराखेको छ । यसमा अब आउने दिनमा तामाङ पत्रकार संघको भूमिका के रहने छ ?

प्रेस काउन्सिलको वर्गीकरण नै स्पष्ट छ नेपाली भाषाको लागि हो । तामाङ भाषाको लागि होइन । त्यसको लागि छुट्टै नै सम्परिक्षण गर्न प्रेस काउन्सिलजस्तो संस्था चाहिन्छ तामाङ भाषाको लागि पनि । त्यसको लागि राज्यको लगानी चाहिन्छ । लगानी तामाङ भाषामा नभएकोले त्यसको लागि राज्यले दोब्बर लगानी गर्नुपर्यो नभए छुट्टै संस्था चाहिन्छ । भाषामा लगानी नभएपछि हाम्रो पत्रिका मिडिया आउने नै भएन नी । हाम्रो मिडिया अहिले औंलामा गन्न सक्नै मात्रै छन् । पत्रकारितामा पनि लगानी चाहिन्छ । लगानीबिना पत्रिका निकाल्न र मिडिया संचालनका लागि सम्भव छैन । राज्यले दिने भनेको थोरै हो । मिडिया संचलानको लागि धेरै लगानी चाहिन्छ । एक दुइवटाको लागि राज्यले लगानी गर्दैन । हाम्रो भाषाको लागि सरकारले छुट्टै लगानी गर्नुपर्छ ।

तामाङ पत्रकार सङ्घको इतिहास हेर्दा यसको स्थापना तामाङ मातृभाषा पत्रकारहरूलाई सङ्गठित गर्ने उद्देश्यले भएको देखिन्छ। तर, अगाडि बढ्दै जाने क्रममा मातृभाषाको पत्रकारीता भन्दा गैरमातृभाषी पत्रकारहरू वा ब्रोडसिट मिडियामा कार्यरत पत्रकारहरूको सङ्घमा बढी भएको भन्ने कुरा पनि यदाकदा बजारमा उठ्ने गरेको छ। यसबारे यहाँको धारणा के छ? र, कसरी अगाडि बढ्ने सोचमा हुनुहुन्छ ?

बजारमा सुनिने हैन। यो त प्रस्टै छ नि। म पनि नेपाली भाषामा पत्रकारिता गर्दै यहाँ आइपुगेको हुँ । यहाँ नआउँदासम्म मलाई  तामाङ समुदायको मुल मुद्दाबारे थाहै थिएन ।

यसैले तामाङ भाषामा पत्रकारिता गर्नेहरुसँगै अरु भाषामा पत्रकारिता गर्ने साथीहरु पनि यहाँ आउनुपर्छ । यसो हुँदा तामाङ समुदायको मुद्दा बुझ्छन् र यसलाई आफ्नो मिडियामार्फत बुलन्द पार्ने कोशिश गर्छन् । साथीहरुको साथ सहयोग सुझाव अनुरुप नै तामाङ पत्रकारहरुको हकहितको रक्षाको लागि अघि बढ्नेछु । तर तामाङ भाषाको पत्रकारिता गरेर बाँच्न सक्ने अवस्था छैन । त्यसको लागि श्रमजीवि अनुरुप नेपाली भाषामा काम गर्नुपर्छ ।

संघको अघिल्लो कार्यकालमा गरेका र अपूरा कार्ययोजनालाई कसरी सम्बोधन गर्ने सोच्नुभएको छ ?

यसअघिका अध्यक्ष सुवास योन्जनको कार्यसमितिले तीन वटा किताब प्रकाशन गर्‍यो । तामाङ  पत्रकारहरुको प्रोफाइल तयार गर्ने योजना पुरा भएन । त्यो मेरो पालामा पूरा गर्छु । र तामाङ पत्रकारहरुको क्षमता अभिबृद्वि र तामाङ विषयमा रिपोर्ट तयार गर्नका लागि रु १० लाखको अक्षयकोष स्थापना भएको छ । त्यसमा केही प्रतिवद्वता रकम अपुग छ । त्यो पूरा गर्ने प्रयास हुनेछ ।

१० लाख अक्षयकोषको योजना के केमा लागुहुन्छ ?

१० लाख अक्षयकोषको मुख्य उद्देश्य भनेको प्रत्येक वर्ष एक जनालाई लेखनबृति दिने हो । त्यसबाट एक जना तामाङ पत्रकारले आधा लाख पुरस्कार पाउने भयो भने हाम्रो मुद्दाको समाचार पनि आउनेभयो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया