नेपाल तामाङ घेदुङ प्रवास शाखा साउदी अरेबियाले मन्जुश्री संवत् २५६१ (डुल ल्हो) सोनाम ल्होछार मनाउने भएको छ । तामाङ घेदुङ साउदीले यहि जनवरी २४ तारीख बिशेष सांस्कृतिक कार्यक्रम-२०२५ को आयोजनागरि ल्होछार मनाउन लागिएको हो ।
साउदीको राजधानी रियादको एक्जिट-९, मा हुने ल्होछार कार्यक्रम १२ बजेबाट सुरु हुने तामाङ घेदुङ प्रवास शाखा साउदीका महासचिव नागेश तामाङले जानकारी दिए । उनका अनुसार कार्यक्रमका लागि नेपालबाट सेलो गायक रोज मोक्तान तामाङ र सेलो गायिका सुमिना लो तामाङलाई निमन्त्रणा गरेका छन् ।
स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने कार्यक्रममा शुल्क नलाग्ने तामाङ घेदुङ प्रवास शाखा साउदीका अध्यक्ष रुपक वाइबाले जानकारी दिए । उनका अनुसार कार्यक्रम हलसम्म पुग्न बाथा र सनैयाबाट नि:शुल्क यातायात व्यवस्था गरेका छन् । ` एक ठाउँमा जम्मा भएर कार्यक्रम हेर्ने आउनुहुन्छ भने बसको व्यवस्था गर्न सकिन्छ,´ अध्यक्ष वाइबाले भने,` कार्यक्रम सकेपछि फर्केर जानसमेत घेदुङले यातायातको व्यवस्थापन गरेको छ ।´
तामाङ घेदुङ प्रवास शाखा साउदीले विभिन्न संघसंस्था र सहयोग दाताहरूलाई निमन्त्रणा बाँड्न सुरु गरिसकेका छन् । आयोजकले कारणबस निमन्त्रणा नपुगेको खण्डमा यस समाचारलाई आधार मान्नसमेत आग्रह गरे ।
गतवर्षको ल्होछार तामाङ घेदुङ साउदीले नेपाल प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सम्मान गरेका थिए । तामाङ घेदुङ साउदीले प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङलाई साउदीमै निमन्त्रणा गरेर सम्मान गरेका हुन् ।
स्थापनाकालदेखिनै ल्होछार, बुद्ध जयन्ती लगायत नेतृत्व विकास कार्यक्रम गर्दै आएका तामाङ घेदुङ प्रवास शाखा साउदीले विभिन्न क्षेत्रका पीडितहरुलाई आर्थिक सहयोगसमेत गर्दै आएको छ । शिक्षा क्षेत्रमा समेत सहयोग गर्दै आएका तामाङ घेदुङ साउदीको एउटै मात्र क्षेत्रीय समिति दम्माम छ ।
थप यो पनि
साउदी घेदुङको पहलमा बिचारमानलाई नेपाल फर्काइयो
साउदी घेदुङद्वारा ल्होछार सम्पन्न