रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिकाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ६८ वर्षदेखि माथि उमेर समूहका ५५० जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा (फाइबरको सिरक) वितरण गरेको छ।
पुस २१ गतेदेखि २६ गतेसम्म वडा नं. १ देखि ६ सम्म वितरण गरिएको थियो । कार्यक्रम गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरू तथा सरोकारवालाहरूको उपस्थिति र नेतृत्वमा सम्पन्न भयो।
कार्यक्रममा गोसाईंकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले ज्येष्ठ नागरिकहरूलाई गाउँपालिकाको धरोहर र जीवित देवता भएको भन्दै सबैले उनीहरूको सम्मान गर्नुपर्ने कुरा औँल्याए।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख विजय लामा, जिल्ला अधिकारी अर्जुन पौडेल, नेपाली सेनाका प्रमुख प्रद्युम्न गौतम, उपाध्यक्ष प्रतिमा तामाङ, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरीका प्रतिनिधि, वडा कार्यपालिका सदस्य, पत्रकार, बुद्धिजीवी, समाजसेवी र स्थानीय नागरिकहरूको पनि उपस्थिति थियो।
१०६ वर्षीय दावा खेण्डो तामाङ लगायत अन्य ज्येष्ठ नागरिकहरूले यो सहयोगप्रति आभार व्यक्त गरे। दावा खण्डोले न्यानो सिरक पाउँदा खुसी व्यक्त गर्दै कार्यक्रमको प्रशंसा गरे।
गाउँपालिकाका उपाध्यक्ष प्रतिमा लामाले हिमाली जिल्ला रसुवाको चिसो वातावरणमा ज्येष्ठ नागरिकहरूलाई राहत दिन न्यानो कपडाको यो वितरण कार्यक्रम महत्त्वपूर्ण भएको बताए। यो सहयोगले पूर्ण आवश्यकता त पूरा नगर्ने भए पनि ज्येष्ठ नागरिकहरूको जीवनमा केही सहजता ल्याउने विश्वास व्यक्त गरियो।
नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले गाउँपालिकाको यस कदमको प्रशंसा गर्दै भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्न सुझाव दिए।
यस प्रकारका सहयोगमूलक गतिविधिले हिमाली क्षेत्रका ज्येष्ठ नागरिकहरूको जीवनमा थप सहजता ल्याउन मद्दत गर्ने विश्वास गरिएको छ।