कांग्रेस-एमाले सहमति कार्यान्वयनमा प्रधानमन्त्री गम्भीर देखिएन: महर

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडौं

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार निर्माणका क्रममा नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे सहमति कार्यान्वयनमा प्रधानमन्त्री केपी शर्मा ओलीको गम्भीरता र जिम्मेवारीको अभाव देखिएको बताएका छन्।

नेपाली कांग्रेसका सम्पर्क समितिका अध्यक्षसँगको छलफल कार्यक्रममा उनले सरकारको ढिलासुस्ती र सहमति कार्यान्वयनमा देखिएको उदासीनता प्रति गम्भीर समीक्षा गर्न केन्द्रीय समिति बैठक आह्वान गर्नुपर्ने आवश्यकता औंल्याए।

“प्रधानमन्त्री ओलीले संसद्मा सात बुँदे सहमति सार्वजनिक गर्दा जनतामा उत्साह छाएको थियो। दुई ठूला दलको सहकार्यले निराश जनतामा आशा जागेको थियो। संविधान संशोधनको अपेक्षा थियो। तर, सरकार गठन भएको छ महिनासम्म पनि सहमतिका कुनै विषय अगाडि नबढ्नु दुःखद कुरा हो। यसले जनतामा पुनः निराशा पैदा गरेको छ। कांग्रेस केन्द्रीय समिति बैठकमा यसको गम्भीर समीक्षा आवश्यक छ,” महरले भने।

नेता महरले सहमति विपरीत एकलौटी अभिव्यक्ति दिनु र जनतालाई निराश तुल्याउनु अस्वाभाविक भएको टिप्पणी गरे। ‘प्रधानमन्त्रीको अभिव्यक्तिले जनताको आशालाई निराशामा परिणत गराएको छ। यो गम्भीर विषय बनेको छ,’ उनले भने।

संसद्को भूमिकालाई बलियो बनाउन कानुन निर्माण र जनहितका काममा ध्यान दिनुपर्ने उनले जोड दिए। ‘संसद्ले जनताका सेवाप्रवाह र दैनिक जीवनसँग सम्बन्धित विषयलाई प्राथमिकतामा राख्नुपर्नेछ। सरकारले अनावश्यक विषयमा समय खर्चिनुको सट्टा हिउँदे अधिवेशन आह्वान गरेर प्रभावकारी काम गर्नुपर्छ,’ महरको सुझाव थियो।

प्रतिनिधिसभाको हिउँदे अधिवेशन आह्वानमा ढिलाइ भएकोप्रति प्रतिपक्षी दलहरूले विरोध गरिरहेको अवस्थामा सरकार र सत्तारूढ दल गम्भीर हुनुपर्ने उनले बताएका छन्।

‘नेपाली कांग्रेसले सञ्चालन गरेको १०० दिने अभियान लगभग समाप्त हुने क्रममा छ। यस अभियानमा सरकारको प्रभावकारिता र कांग्रेसको संगठन सुदृढीकरणका सवालमा जनताबाट लाखौं सुझाव प्राप्त भएका छन्। ती सुझावको समीक्षाका लागि केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आवश्यक छ,’ महरले भने।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका