‘परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढिकरण’ भन्ने मूल नाराका साथ सन् २००५ मा कतारमा स्थापना भएको तामाङ समाज नेपाल अब देशभर सक्रिय रूपमा सामाजिक कार्यमा जुटेको छ। बि.स. २०७६ मा काठमाडौँमा विधिवत् रूपमा दर्ता भएको यस संस्थाले शनिबार ललितपुरमा आफ्नो शाखा विस्तार गर्दै समाजको उद्देश्यलाई व्यापक बनाउन थप कदम चालेको छ।
कार्यक्रममा नेपाल केन्द्रका अध्यक्ष कमल योञ्जन तामाङले तामाङ समाज नेपालको उद्देश्यलाई देशको हरेक जिल्लामा विस्तार गर्दै तामाङ समुदायका लामा, ताम्बा, गान्बा, कलाकार, बुद्धिजीवी, कवि, खेलाडी र अन्य क्षेत्रका व्यक्तिहरूलाई एकजुट गराउने लक्ष्य रहेको बताए। उनले देश र विदेशमा रहेका सम्पूर्ण तामाङलाई यस अभियानमा जोडिन आग्रह गर्दै समाजको सुदृढिकरणका लागि अविचलित रूपमा अघि बढ्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा समाजकी कोषाध्यक्ष सोनी लुङ्बा तामाङले महिला सहभागिताको कमीप्रति चिन्ता व्यक्त गर्दै आगामी दिनमा महिला सहभागिता बढाउनुपर्नेमा जोड दिइन्। उनले तामाङ महिलाहरूले घास, दाउरा र घरायसी काममा मात्र सीमित नभई समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताइन्।
त्यसैगरी, तामाङ समाज नेपालका उपाध्यक्ष अशोक सिङ्तान तामाङले बिगतका उपलब्धिहरू स्मरण गर्दै सामाजिक कार्यमा निरन्तरता दिन र समुदायको समृद्धिका लागि परिवर्तन ल्याउन आफू सधैं तत्पर रहेको बताए। छिमेकी मार्टका अध्यक्ष नर बहादुर तामाङले एकता र सहकार्यकै माध्यमबाट तामाङ समुदाय सामाजिक, आर्थिक र राजनीतिक रूपले सशक्त बन्न सक्ने धारणा राखे।
कार्यक्रमका विशेष अतिथि महिला विकास संघकी अध्यक्ष रमिला योञ्जनले तामाङ समाजको धर्म, संस्कृति र एकताको प्रशंसा गर्दै तामाङ महिलाहरूलाई थप सक्रिय हुन प्रोत्साहन गरिन्।
ललितपुर शाखा गठन
घोषणा सभाबाट ललितपुर जिल्ला शाखाका लागि १३ सदस्यीय कार्यसमिति चयन गरिएको छ।
- अध्यक्ष: संजीव सिङ्ग तामाङ
- उपाध्यक्ष: रबिन्द्र योञ्जन लामा
- सचिव: लोक बहादुर तामाङ
- कोषाध्यक्ष: मान बहादुर तामाङ
- सह-कोषाध्यक्ष: शान्ति तामाङ
कार्यसमिति सदस्यहरू
सन्तोष तामाङ, मनमाया गोले, आशिष लामा तामाङ, विजय तामाङ, कमल थिङ तामाङ, सबिता तामाङ, अच्युत लामा तामाङ, अनिल मार्पा तामाङ।
सदस्य तथा सञ्चार विभागीय प्रमुख प्रकाश थिङ तामाङ।
यस शाखाले २३ सदस्यीय कार्यसमिति तयार पारेको छ, जसमा दक्षिण ललितपुरका ८० प्रतिशत भन्दा बढी तामाङ समुदायलाई प्रतिनिधित्व गर्ने गरी समिति गठन गरिएको हो।
ललितपुर शाखाका अध्यक्ष संजीव सिङ्ग तामाङले तामाङ पहिचान र समुदायको आर्थिक तथा शैक्षिक सुदृढिकरणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। उनले आफ्नो नेतृत्वमा ललितपुरका प्रत्येक तामाङ बस्तीमा पुगेर समाजका उद्देश्यलाई पूरा गर्न कार्य गर्ने बताए।
कार्यक्रमको सञ्चालन प्रकाश थिङले गरेका थिए।
तामाङ समाज नेपाल ललितपुर शाखा स्थापना गर्दै यसले तामाङ समुदायलाई थप एकताबद्ध गर्ने र सामाजिक रूपान्तरणका लागि दिगो योगदान दिने विश्वास लिएको छ।