सालीनदी माघ मेला सुरु

490 Shares
काठमाडौं

शंखरापुर नगरपालिकाको साँखुस्थित सालीनदीमा एक महिने माघ मेला आजदेखि सुरु भएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने यस मेलामा भक्तजनहरू श्रीस्वस्थानी ब्रतकथा वाचन गर्दै कठोर व्रत बस्ने गर्छन्।

नेपाली समाजमा सालीनदी स्वस्थानी ब्रतकथाले विशेष स्थान ओगटेको छ। हिन्दू धर्मअनुसार, श्रीस्वस्थानी माताको व्रत बस्दा मनोकामना पूरा हुने र पापबाट मुक्ति पाइने विश्वास गरिन्छ। आजबाट एक महिना अवधिसम्म महिला र पुरुष सालीनदीमा कठोर व्रत बस्छन् ।

राजधानी काठमाडौंको उत्तरपूर्वमा अवस्थित शंखरापुर नगर, साँखु बजार लगायत वरिपरिका ग्रामिण वस्ती धार्मिक, साँस्कृतिक र पर्यटकीय दृष्टिले अत्यन्तै सुन्दर गन्तव्यको रुपमा महत्वपूर्ण मानिन्छ। माघ महिनाभर सालीनदीको किनारमा भक्तजनहरूको ठूलो जमघट हुने गर्दछ। यहाँको प्राचीन मन्दिर र सालीनदी नदीले पौराणिक कथालाई जीवित राखेको छ।

सालीनदी स्वस्थानी ब्रतकथामा चन्द्रावतीको कथा विशेष रूपमा उल्लेख गरिएको छ। पौराणिक कथनअनुसार, लावण्य देशकी रानी चन्द्रावतीले आफ्नो कर्मका कारण कुष्ठरोग भोग्नुपरेको थियो। उनले ऋषिहरूको सल्लाहमा सालीनदी किनारमा स्वस्थानी माताको व्रत बसेपछि मात्र मुक्ति पाएकी थिइन्। यस कथाले भक्तजनहरूलाई धर्मप्रतिको आस्था र कर्मको प्रभावका विषयमा प्रेरित गर्छ।

मेलामा सहभागी हुन देशका विभिन्न भाग तथा भारतलगायत अन्य देशबाट समेत गरी लाखौंलाख भक्तजनहरूले दर्शन गर्ने गर्दछन् । धार्मिक पूजाआजा, प्रसाद ग्रहण, र कथा वाचनका साथै मेलामा स्थानिय परिकार र हस्तकलाका सामग्रीहरूको व्यापारले साँखुको आर्थिक गतिविधिलाई पनि टेवा पुर्याएको छ।

शंखरापुर नगरपालिकाले मेलालाई सम्य र भव्य बनाउन मेला व्यवस्थापन तथा अनुगमन गरी सुरक्षा व्यवस्था, यातायत सवारीको चाप व्यवस्था मिलाउन ट्राफिक व्यवस्थापन देखि सरसफाइसम्मका व्यवस्था गरेको छ। स्थानीय माधव नारायण स्वस्थानी ब्रतकथा समिति, जनक जानकी मन्दिर, ईलाका प्रशासन कार्यालय, नेपाल प्रहरी, स्थानीय राजनितिक दलका नगर प्रमुखहरु, साँखु बस व्यवसायी समिति, नेपाल स्काउट, विभिन्न टोल समिति लगायत सरोकारवाला संघ संस्थाको सहभागीतामा शंखरापुर नगरपालिकाको नेतृत्वमा सालीनदी मेला व्यवस्थापन मुल समारोह समिति गठन गरी विभिन्न उपसमितिहरु निर्माण गरी मेला व्यवस्थापनमा विशेष भूमिका गत बर्षहरुमा झैं यसपाली पनि शंखरापुर नगरपालिकाले आफ्नो दायित्व र जिम्मेवारीका तयारी पुरा गरेको नगर प्रमुख रमेश नापितले जनाएका छन् ।

मेला अवधिभर मात्र नभएर अन्य समयमा पनि शान्ति सुरक्षा देखि लिएर मेला व्यवस्थापन गर्न प्रहरी प्रभाग साँखु मेला व्यवस्थापन मुल समितिसँग आवश्यक सहकार्य र समन्वयमा निरन्तर लागिरहेको प्रभाग प्रमुख प्रहरी निरीक्षक नविन चुदाँलीले बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका