भुमि समस्या समाधान आयोग रसुवाको अध्यक्षमा जनकजीवन उपाध्याय नियुक्त

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
385 Shares
धुन्चे, रसुवा

भुमि समस्या समाधान आयोग जिल्ला समिति रसुवाको अध्यक्षमा जनकजीवन उपाध्याय नियुक्त भएका छन्। पुस २९ गतेको मन्त्रीस्तरको निर्णयअनुसार नियुक्त भएका उपाध्यायलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका विभागीय मन्त्री बलराम अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।

उपाध्यायलाई भुमि समस्या समाधान आयोग गठन आदेश, २०८१ को दफा ८ को उपदफा १ को खण्ड (क) बमोजिम अध्यक्ष पदमा नियुक्त गरिएको हो।

रसुवाका पुराना कांग्रेस नेता उपाध्याय २०४६ सालको जनआन्दोलनका बेला काठमाडौंको पिपुल्स क्याम्पस जनआन्दोलन परिचालन समितिका संयोजक थिए। त्यतिबेला उनी पिपुल्स क्याम्पस नेविसंघका अध्यक्षको जिम्मेवारीमा थिए। त्यसपछि उनले रसुवाको नेविसंघको अध्यक्ष पद सम्हाले।

उनी पछि तरुण दल रसुवाका सभापति बने। लामो समयसम्म रसुवा कांग्रेसको नेतृत्वमा सक्रिय रहेका उपाध्याय गरिबसँग विश्वेश्वर कार्यक्रमका संयोजक समेत बने।

बौद्धिक नेता, प्रखर वक्ता, र कुशल संगठकका रूपमा परिचित उपाध्यायले रसुवामा लामो समयदेखि कांग्रेसको सांगठनिक बलियो आधार निर्माणमा महत्वपूर्ण योगदान गरेका छन्।

उपाध्यायको नियुक्तिसँगै रसुवाको भुमि समस्या समाधानका लागि थप प्रभावकारी कदम चालिने विश्वास गरिएको छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका