नौकुण्ड गाउँपालिकाका कृषि सडकहरूमा कालोपत्रे, स्थानीयमा खुशीको लहर

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
280 Shares
धुन्चे, रसुवा

रसुवाको नौकुण्ड गाउँपालिका भित्रका ग्रामीण कृषि सडकहरूले संघीयताको प्रभावमा ठूलो फड्को मारेका छन्। नौकुण्ड पूर्वाधार विकास कार्यालयमार्फत एकैपटक १० किलोमिटर सडक कालोपत्रे गर्ने योजना कार्यान्वयनमा आएको हो।

८ किमी कालोपत्रे, २ किमी ढलान

१० किलोमिटरमध्ये ८ किलोमिटर सडक कालोपत्रे हुनेछ भने भूगर्भीय अवस्थाका कारण बाँकी २ किलोमिटर सडकमा ढलान गरिने नौकुण्ड गाउँपालिकाले जानकारी दिएको छ। अम्बासदेखि सुरु भएको यस सडकको निर्माण कार्य बागमती प्रदेश सरकारको ३३ करोड रुपैयाँको लागतमा ढुकुचु कन्स्ट्रक्सन काठमाडौंले सञ्चालन गरिरहेको छ। यसले पारच्याङलाई जोड्ने सडकलाई कालोपत्रे बनाएपछि वर्षौंदेखि हिलो, धूलो र बारम्बार भत्किरहने समस्याबाट स्थानीयवासीलाई मुक्ति दिलाउने विश्वास गरिएको छ।

निर्माण कार्यमा ढिलाइ, म्याद थप

२०७८/७९ मा सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको यो परियोजनामा कोरोना महामारीलगायत विभिन्न कारणले निर्माणमा ढिलाइ भएको थियो। ढुकुचु कन्स्ट्रक्सनले दुई पटक म्याद थप गर्दै अब माघ १५ भित्र निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।

स्थानीयको आशा र खुसी

सडक कालोपत्रे भएपछि ठूला भोरले, सरमथली, पारच्याङ, पाटीखर्क, फाल्चेत, यार्सा लगायतका बासिन्दाको जीवनस्तरमा सहजता आउने अपेक्षा गरिएको छ। नौकुण्ड गाउँपालिका वडा नं. ५ का अध्यक्ष सुजन तामाङका अनुसार गुणस्तरीय सडक बनेपछि ग्रामीण क्षेत्रका मानिसहरूमा शिक्षा, स्वास्थ्य, र अन्य सेवासुविधाको पहुँच सहज हुने विश्वास छ।

रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले भने, “दूरदराजका मानिसहरूले गुणस्तरीय सडकका कारण सुविधा उपभोग गर्न पाउने भएका छन्। यसले स्थानीय विकासमा ठूलो प्रभाव पार्नेछ।”

झण्डै एक दशकअघि तत्कालीन जिल्ला विकास समितिले कृषकलाई उपज बढाउन कृषि सडक निर्माणको पहल गरेको थियो। संघीयताको आगमनसँगै त्यस अवधारणाले ठोस परिणाम देखाउन थालेको छ। आगामी दिनमा नौकुण्ड गाउँपालिकाभित्रका ग्रामीण बस्तीहरूमा सहज वातावरण सिर्जना हुने विश्वास गरिएको छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका