तामाङ सोसाइटी अफ न्युजिल्यान्डले तामाङ समुदायको महान पर्व मञ्जुश्री सम्वत् २८६१ डुल (सापुख्री) ल्हो / सर्प वर्ष को पावन अवसरमा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने तयारी गरिरहेको छ।
कार्यक्रम यही आउँदो फेब्रुअरी १ तारिखमा Tinwald War Memorial Hall, 10 Graham Street, Tinwald, Ashburton 7700 र Jack Dickey Community Hall, 174 Green Lane West, Epsom, Auckland 1051 मा हुने भएको छ।
साउथल्याण्डको कार्यक्रम स्थानीय समयअनुसार साँझ ५:०० बजे सुरु हुनेछ । नर्थल्याण्ड, अकल्याण्डमा पनि सोही दिन कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ। भौगोलिक कारणले एकै स्थानमा कार्यक्रम गर्न नसकिएको हुँदा दुई भिन्न स्थानमा कार्यक्रम गर्न सोसाइटीले निर्णय गरेको हो।
साउथल्याण्ड, आशबर्टनमा हुने कार्यक्रम तामाङ सोसाइटीका पूर्व महासचिव पाण्डव पाख्रिन र स्थानीय समुदाय मिड क्यान्टबरी नेपाली संघको समन्वयमा आयोजना हुँदैछ। पाख्रिन मिड क्यान्टबरी नेपाली संघका महासचिव समेत हुन्। यस्तै, नर्थल्याण्ड, अकल्याण्डको कार्यक्रम सोसाइटीका सक्रिय सदस्य राजु दोङको समन्वयमा सम्पन्न हुने भएको छ।
तामाङ सोसाइटी अफ न्युजिल्यान्डका पूर्व अध्यक्ष शान्त ग्याबा लामाका अनुसार यो पर्व न्युजिल्यान्डमा तामाङ समुदायले आफ्नो धार्मिक, सांस्कृतिक सम्पदा र परम्पराको संरक्षणका लागि मनाउँदै आएको हो। साथै, यो पर्वले गैर-तामाङ समुदायसँग भावनात्मक सम्बन्ध स्थापना गर्ने, सांस्कृतिक आदानप्रदान र आपसी समझदारीलाई बलियो बनाउने उद्देश्य बोकेको छ।
कार्यक्रमको तयारी तीव्र रूपमा अघि बढिरहेको जानकारी सोसाइटीका पदाधिकारीहरूले दिएका छन्। तामाङ समुदायसँगै अन्य नेपाली समुदायलाई पनि कार्यक्रममा उपस्थित भएर सहभागिता जनाउन आग्रह गरिएको छ।