नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाले आदिवासी जनजातिले आफ्नो पहिचान जोगाउन मातृभाषा संरक्षणमा जोड दिनुपर्नेमा जोड दिएको छ।
नेपाल मगर सङ्घले माघे सकरातीको अवसरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष शेर्पाले मातृभाषा संरक्षणलाई प्राथमिकतामा राख्दै जातीय पहिचान, कला, संस्कृति र जीवनशैली जोगाउन आग्रह गरे ।
उनले पछिल्लो समय आदिवासी जनजातिको मातृभाषा लोप हुँदै गएकामा चिन्ता व्यक्त गर्दै भन्नुभयो, “हाम्रो प्रमुख विशेषता मातृभाषा हो। मातृभाषा रहेमा हामी रहन्छौँ। यदि यहाँ कार्यक्रम सञ्चालकले मातृभाषा प्रयोग गरिएको भए सबैलाई प्रेरणा मिल्थ्यो। यसैले, भाषाको संरक्षणमा विशेष ध्यान दिनुपर्छ।”
संस्कार, संस्कृति र वेशभूषाको संरक्षणसँगै मातृभाषाको जगेर्नामा सबै समुदाय एकजुट हुनुपर्नेमा उनले जोड दिए ।
नेपालमा भएका हरेक परिवर्तनमा आदिवासी जनजातिको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै अध्यक्ष शेर्पाले अवसर भने अन्य समुदायको तुलनामा कम पाएकोमा चिन्ता व्यक्त गरे । “हाम्रो समुदाय प्रत्यक्ष रूपमा प्रकृतिसँग जोडिएको छ। प्राकृतिक स्रोतसाधन बिना हाम्रो जीवनयापन सम्भव छैन,” उनले भने ।
उनले आदिवासी जनजातिका हकअधिकार सुनिश्चित गर्न र आगामी दिनमा थप सक्रिय सहभागिताका लागि सचेत रहनुपर्ने आवश्यकता औँल्याए ।