बोझिनीमा प्रहरी र स्थानीयबिच झडप, दर्जनौँ घाइते, आन्दोलन चर्किँदै

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
735 Shares
काठमाडौं

शंखरापुर नगरपालिका–३, बोझेनि लब्सिफेदी स्थित निर्माणाधीन अपर तामाकोसी जलविद्युत् परियोजनाका सबस्टेसन र टावरको काम रोक्न माग गर्दै स्थानीयवासी र सुरक्षाकर्मीबिच झडप भएको छ। यस झडपमा चित्रबहादुर पाख्रिनसहित दर्जनौँ व्यक्ति घाइते भएका छन् भने ७० वर्षीय एक वृद्धसहित १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। १३ जना बौद्ध प्रहरीको हिरासतमा छन् । काममा अवरोध गरेकाले १३ जनालाई हिरासतमा लिइएको काठमाडौँ प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए ।

स्थानीयवासीले सुरक्षा फौजले घरघरमा छापा मारेको आरोप लगाउँदै गहिरो असन्तुष्टि व्यक्त गरेका छन्। झडपपछि स्थानीय कल्पना तामाङ र दिलकुमारी तामाङ सम्पर्कविहीन भएका छन्। स्थानीय आन्दोलनकारीले प्रहरीद्वारा नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई सामान्य सोधपुछपछि रिहा गर्नुको सट्टा झुटा मुद्दा लगाउने तयारी भइरहेको दाबी गरेका छन्।

अपर तामाकोसी जलविद्युत् पीडित सङ्घर्ष समिति तथा विभिन्न सङ्घसंस्थाले सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्यमा राज्यले जिम्मेवारी लिनुपर्ने र नियन्त्रणमा लिएका आन्दोलनकारीहरूको विनाशर्त रिहाइ गर्नुपर्ने माग राख्दै आन्दोलनको घोषणा गरेका छन्।

हालसम्म समान नेपाल, नेपाल तामाङ घेदुङ, अपर तामाकोसी पीडित सङ्घर्ष समिति, पहिचानवादी मोर्चा, राष्ट्रिय मुक्ति पार्टी लगायतका संघसंस्थाले आन्दोलनलाई समर्थन गर्दै विज्ञप्ति जारी गरिसकेका छन्।

यो आन्दोलनले स्थानीय बासिन्दाको समस्या तथा अपर तामाकोसी परियोजनासँग सम्बन्धित विवादलाई थप चर्काइदिएको छ। आगामी दिनमा यसले राज्य र स्थानीयबिचको सम्बन्धलाई कसरी प्रभावित पार्नेछ भन्ने प्रतीक्षाको विषय बनेको छ।

बस्तीको बीचमा सबस्टेसन निर्माण गर्न नहुने स्थानीयको माग सुनुवाइ नहुँदा बेला–बेला तनाव हुने गरेको छ । यसअघि २०८० साल मंसिरमा पनि स्थानीयसँग झडप हुँदा सशस्त्र प्रहरीका डिएसपी देवराज राईसहित तीन जना सुरक्षाकर्मी घाइते भएका थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1

तपाईको प्रतिक्रिया

पत्रपत्रिका