काठमाडौँको शंखरापुर नगरपालिकास्थित–३ बोझेनीमा केही दिनअघि प्रहरी र स्थानीयबिच भएको झडप हुँदा प्रहरीले हिरासतमा राखेको स्थानीयको रिहाइका माग गर्दै आज आन्दोलन गरेका छन् ।
अपर तामाकोसी तथा एमसिसी पीडित सङ्घर्ष समितिद्वारा शनिवार बोझिनी पाख्रिन टोलमा दबाबमूलक आन्दोलन गरी रिहाइका माग गरेका हुन् ।
थातथलोबाट विस्थापित नहुन एसियाली विकास बैङ्क र एमसीसीको लगानीमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागिरहेको विद्युत् प्रसारण लाइन र सबस्टेसन परियोजना अन्यत्र सार्ने मागसहित शान्तिपूर्ण आन्दोलन गरेका हुन् ।
अपर तामाकोसी जलविद्युत् परियोजनाका सबस्टेसन र टावरको काम रोक्न माग गर्दै स्थानीयवासी आवाज उठाइरहेका छन् ।
काममा अवरोध गरेकाले १३ जनालाई हिरासतमा लिइएको थियो भने ६ जनालाई म्याद थप गरी हिरासतमा राखिएको छ ।
आन्दोलनमा आदिवासी भूमि फिर्ता गर, आदिवासी भूमिमा सवस्टेसन बनाउन पाइँदैन, राज्यको गिरफ्तार आतङ्क बन्द गर जस्ता आर्ट गरिएका प्लेकार्ड बोकेर विरोध सभामा सहभागी भएका थिए ।
शान्तिपूर्ण आन्दोलनमा आदिवासी जनजाति महिला महासङ्घ, किरात याक्थुङ चुम्लुङ २०४६ लगायत विभिन्न आदिवासी जातीय संस्थाहरूले ऐक्यबद्धता जनाइएका थिए ।