अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी भइरहेका समय टिकटकले सेवा अवरूद्धताका लागि आफ्ना प्रयोगकर्ताहरूसँग क्षमा याचना गर्दै हाललाई अमेरिकामा यो सेवा अवरूद्ध भएको घोषणा गरेको छ । केही अमेरिकी प्रयोगकर्ताले टिकटकलाई गुगल एप स्टोरबाट पनि हटाइएको बताएका छन् ।
अमेरिकामा प्रतिबन्ध लागू हुनुभन्दा केही घण्टाअघि नै सामाजिक सञ्जाल टिकटक बन्द गरिएको हो । प्रयोगकर्ताले अमेरिकामा टिकटक खोल्दा उनीहरूको टिकटक पेजमा ‘तपाईं अहिले टिकटक प्रयोग गर्न सक्नुहुन्न’ भन्ने एउटा सन्देश देखिन्छ । यो सन्देश टिकटकले अमेरिकामा आफ्नो सेवा बन्द भएको घोषणा गरेपछि देखिन थालेको हो । धेरै प्रयोगकर्ताले एप स्टोरबाट पनि टिकटक हटाइएको बताएका छन् ।
अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकमाथि प्रतिबन्ध लगाउने कानुनको पक्षमा फैसला सुनाएको थियो । टिकटकको मूल कम्पनी बाइटडान्सले अमेरिकी फर्म वा कम्पनीलाई टिकटकको स्वामित्व बेचेको खण्डमा मात्र टिकटक प्रतिबन्धबाट बच्न सक्ने फैसलामा उल्लेख छ । त्यसपछि टिकटकले एक विज्ञप्ति जारी गर्दै जो बाइडेन, ह्वाइट हाउस र न्याय मन्त्रालयले हामीलाई स्पष्टता र आश्वासन दिन असफल भएकाले सेवा अर्को व्यवस्था नभएसम्मका लागि बन्द गरिएको छ ।
“सौभाग्यवश, अमेरिकी राष्ट्रपति निर्वाचित हुनुभएका रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि टिकटक पुनः सुरु गर्ने समाधान खोज्न हामीसँग मिलेर काम गर्ने सङ्केत गर्नुभएको छ,” टिकटकले भनेको छ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई ९० दिनको प्रतिबन्धबाट छुट दिन सक्ने आश्वासन दिएको टिकटकले जनाएको छ ।