रसुवाको उतरगया गाउँपालिका वडा नम्बर ५ खाल्टे बगरमा भूकम्प गएको १० वर्षसम्म पनि २ सय ३२ घर परिवार जस्ताको टहरोमा छन् ।
भूकम्पले आफ्नो थातथलो र आफन्त गुमाएर विगत १० वर्षदेखि खाल्टे बगरमा कष्टकर जीवन बिताइरहेका छन् ।
त्रिशूली नदिले छोडेको बगरमा बसिरहँदा गत असोज ११ र १२ गते अत्यधिक वर्षाका कारण हाम्रो वास नै नरहने हो कि भन्ने त्रास भई कहाँ जाने के गर्ने भन्ने अन्योल भएको विस्थापितहरू बताउँछन् ।
विस्थापित भएर हाकु ८ र ९ डाँडा गाउँ र ठुलो गाउँका ८ र ९ वडाका भूकम्प पीडित खाल्टेमा बसिरहेका छन् । जाडोमा अत्यधिक जाडोका कारण शीत झर्ने र गर्मीमा जस्ता तातेर बस्न नै नसक्ने बर्खामा बाढीले बगाउँला भन्ने पिर कहिले सुरक्षित बास स्थानमा बस्न पाउने भन्ने आसमा बाँचिरहेका छन् ।
भूकम्प पीडितमध्ये १ सय २८ घर परिवारलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७७ सालमा नजिकै तल्लो पहिरेमा ३८ रोपनी जग्गा प्राधिकरण कै नाम जग्गा किनेर लालपुर्जा वाँडने भनिए तापनि ४ वर्ष बितिसक्दा पनि अझै पीडितहरू पक्की घरमा बस्न पाएका छैनन् ।
विस्थापितका लागि पक्की भवन निर्माण गरी पुर्नवास गर्न नसक्दा बृद्ववृद्वा, सुत्केरी, महिला, अपाङ्गता भएका व्यक्ति बालबालिकाहरू अझै पनि असुरक्षित महसुस गरिरहेको छेकु लामा बताउँछन । उनिहरूको शिक्षा, स्वास्थ्य रोजगारी र पाउनुपर्ने सुविधा अझै नपाएको भूकम्प पीडितहरू वताउछन ।