रसुवाको जिल्ला प्रशासन कार्यालयको आयोजनामा माघ ६ गते सम्पन्न द्विपक्षीय सिमा समन्वय बैठकले नेपाल–चीन सीमाका विभिन्न मुद्दाहरूमा सहकार्यलाई नयाँ उचाइमा पुर्याएको छ। प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल र जनवादी गणतन्त्र चीनको जिलोङ ईमिग्रेशन निरीक्षण स्टेशनका स्टेशनमास्टर मिस्टर झु जिन्सनुईको नेतृत्वमा सम्पन्न बैठकले दुवै पक्षको सहकार्यलाई सुदृढ बनाउन थुप्रै महत्त्वपूर्ण निर्णयहरू गरेको छ।
रसुवाबाट १२ जना र चिनियाँ पक्षबाट ७ जना महत्त्वपूर्ण व्यक्तिहरूको सहभागिता रहेको यो बैठकमा सीमापार आवागमन, ई–पास प्रणालीको स्वीकार्यता, र आपराधिक क्रियाकलाप नियन्त्रणमा सहकार्यलाई प्राथमिकता दिइएको थियो।
यसैगरी सिमाना नजिक रहेका स्तम्भहरूको अवलोकन र विपद् व्यवस्थापनमा सहजीकरण गर्ने विषयमा पनि गम्भीर छलफल गरिएको छ।
बैठकले सरकारी अधिकारीहरूबीच सूचनाको प्रभावकारी आदानप्रदानको निरन्तरता दिइएको छ । यस्तै दुवै पक्षले संयुक्त रूपमा वन डढेलो नियन्त्रण गर्ने सहमति भएको थियो । यसैगरी सीमावर्ती क्षेत्रमा बसोबास गर्ने दुवै देशका नागरिकहरूको हितमा काम गर्न संयुक्त संयन्त्रको निर्माण गरिने बैंठकले पारित गरेको छ।
बैठकमा चिनियाँ पक्षले सीमा सुरक्षामा सहकार्यलाई गम्भीरतापूर्वक लिँदै प्रतिबद्धता व्यक्त गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए।
यो बैठकले नेपाल–चीन सीमा व्यवस्थापनलाई थप सहज, सुरक्षित, र दुवै देशको पारस्परिक हित अनुकूल बनाउन महत्वपूर्ण योगदान पुर्याएको छ। सिमापार आपराधिक क्रियाकलापहरूको नियन्त्रणदेखि विपद व्यवस्थापनसम्मका मुद्दाहरूमा सहकार्यका नयाँ सम्भावनाहरूको ढोका खुलेको छ।
यो बैठकको सफलताले नेपाल–चीन सीमामा अझ सुदृढ, दिगो र लाभदायक सम्बन्ध कायम गर्न मद्दत पुर्याउने विश्वास गरिएको छ ।