नेपाल तामाङ घेदुङ प्रवास शाखा साउदी अरेबियाले चर्चित गायक रोज मोक्तान र गायिका सुमिना लो तामाङलाई स्वागत गरेको छ । उनीहरूलाई घेदुङको क्षेत्रीय समिति दमामले मंगलबार राती स्वागत गरेको हो ।
गायक रोज र गायिका सुमिना, नेपाल तामाङ घेदुङ साउदीले जनवरी २४ तारीख गर्न लागिएको ल्होछार विशेष सांस्कृतिक कार्यक्रम-२०२५ का लागी आएका हुन् । उनीहरूलाई स्वागत गर्न क्षेत्रीय घेदुङका अध्यक्ष बिजय लामा, गायक रोम लामा, युवा समाजसेवी कुमार मोक्तान, खेलाडी कुमार तामाङ लगायत दमाम एर्पोट पुगेका थिए ।
कार्यक्रम साउदीको राजधानी रियादको एक्जिट-९, मा हुने आयोजकले जनाए । ल्होछार शुभकामना आदानप्रदान कार्यक्रम १२ बजेबाट सुरु हुने तामाङ घेदुङ प्रवास शाखा साउदीका महासचिव नागेश तामाङले जानकारी दिए । उनका अनुसार कार्यक्रमलाई सभ्य र भव्य बनाउन नेपालबाट सेलो गायक रोज मोक्तान तामाङ र सेलो गायिका गायिका सुमिना लो तामाङलाई निमन्त्रणा गरेका हुन् ।
स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने कार्यक्रममा शुल्क नलाग्ने तामाङ घेदुङ प्रवास शाखा साउदीका अध्यक्ष रुपक वाइबाले जानकारी दिए । उनका अनुसार कार्यक्रम हलसम्म पुग्न बाथा र सनैयाबाट नि:शुल्क यातायात व्यवस्था गरेका छन् । ` एक ठाउँमा जम्मा भएर कार्यक्रम हेर्ने आउनुहुन्छ भने बसको व्यवस्था गर्न सकिन्छ,´ अध्यक्ष वाइबाले भने,` कार्यक्रम सकेपछि फर्केर जानसमेत घेदुङले यातायातको व्यवस्थापन गरेको छ ।´
तामाङ घेदुङ प्रवास शाखा साउदीले विभिन्न संघसंस्था र सहयोग दाताहरूलाई निमन्त्रणा गरिसकेका छन् । कारणबस निमन्त्रणा नपुगेको खण्डमा यस समाचारलाई आधार मानेर कार्यक्रममा उपस्थिति जनाउन आयोजकले आग्रह गरेको छ ।
गतवर्षको ल्होछार तामाङ घेदुङ साउदीले नेपाल प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सम्मान गरेका थिए । तामाङ घेदुङ साउदीले प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङलाई साउदीमै निमन्त्रणा गरेर सम्मान गरेका हुन् ।
स्थापनाकालदेखिनै ल्होछार, बुद्ध जयन्ती लगायत नेतृत्व विकास कार्यक्रम गर्दै आएका तामाङ घेदुङ प्रवास शाखा साउदीले विभिन्न क्षेत्रका पीडितहरुलाई आर्थिक सहयोगसमेत गर्दै आएको छ । शिक्षा क्षेत्रमा समेत सहयोग गर्दै आएका तामाङ घेदुङ साउदीको एउटै मात्र क्षेत्रीय समिति दम्माम छ ।
थप यो पनि
तामाङ घेदुङ साउदीको ल्होछारमा रोज र सुमिना आउने
साउदीको दुई शहरमा ल्होछार मनाउने