काठमाडौँ मुलुकमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गरेका शहीदहरुको सम्झनामा आजदेखि शहीद सप्ताह सुरु भएको छ ।
काठमाडौँ महानगरपालिकाको समन्वयमा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म अमर शहीदलाई स्मरण गरी शहीद सप्ताह मनाउने गरिन्छ ।
शहीद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिइएको टेकुस्थित उहाँको सालिकमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललगायत महानगरपालिकाका पदाधिकारी एवं स्थानीयले माल्यार्पणका साथ श्रद्धाञ्जली अर्पण गरे।
विसं १९५० मा वनारसमा जन्मनुभएका शुक्रराज शास्त्री धार्मिक गतिविधिमार्फत जहानियाँ शासनविरुद्ध जागरण अभियानमा सक्रिय थियो। उनलाई काठमाडौँको इन्द्रचोकबाट पक्राउ गरी जेलमा राखिएको थियो । राणा सरकारले उनलाई १९९७ माघ १० गते टेकु पचलीस्थित खरीबोटमा झुण्ड्याएर मृत्युदण्ड दिएको थियो ।
शास्त्रीको श्रद्धाञ्जलीसभा भएको उक्त स्थानलाई २०३५ मा तत्कालीन काठमाडौँ नगर पञ्चायतले शिलालेख राखी संरक्षण गरेको हो ।