रसुवाको सानो हाकुका युवाहरूले बेमौसमी तरकारी र फलफूल खेतीबाट आत्मनिर्भरताको बाटोमा

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
490 Shares
रसुवा

रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिका वडा नम्बर २ सानो हाकुका युवाहरूले बेमौसमी तरकारी र फलफूल खेती गर्दै गाउँको आयआर्जनमा नयाँ उचाइ थपिरहेका छन्। युवाहरूको सामूहिक प्रयासले गाउँको आर्थिक र सामाजिक स्वरूप परिवर्तन हुँदैछ।

२०८० साल वैशाख ७ गते, कम्पनी रजिस्ट्रारको कार्यालय बालाजु र उद्योग तथा वाणिज्य कार्यालय धुञ्चेमा ‘सानो हाकु कृषि उद्योग प्रालि’ (सानो हाकु एग्रो) दर्ता गरियो। ३३ जना सेयर सदस्य मिलेर स्थापना गरिएको यस उद्योगले दीर्घकालीन कृषिमा बेमौसमी तरकारी र फलफूल उत्पादन गर्दै गाउँमा आत्मनिर्भरता र नाफामूलक आम्दानीको आधार तयार गर्ने उद्देश्य राखेको छ।

कम्पनीका अध्यक्ष रोनस तामाङका अनुसार हाल उनीहरू बेमौसमी तरकारी र फलफूलको व्यावसायिक खेतीको सुरुवाती चरणमा छन्। नाफा लिनुभन्दा पनि उत्पादन र बजार व्यवस्थापनमा जोड दिइएको छ। दीर्घकालीन सोचका साथ आधुनिक प्रविधिको प्रयोग गर्दै परम्परागत खेतीलाई नविकरण गर्न उनीहरूको योजना छ।

फलफूलतर्फ किवी, कागती, दातिओखर, सुन्तला, र हलुवाबेद खेतीमा ध्यान दिइएको छ भने नगदेबालीमा खुर्सानी, बेसार, लसुन, अदुवा, कुरिलो, साग, धनियाँजस्ता बालीको उत्पादन गरिँदैछ। लगभग १ सय रोपनी भिरालो जमिनमा अर्गानिक खेती सुरु गरिएका कारण उत्पादनको गुणस्तर पनि उच्च रहेको छ।

विदेशी रोजगारीलाई छोडेर गाउँ फर्किएका युवाहरूले सामूहिक खेतीमार्फत आत्मनिर्भर बन्ने प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन्। अध्यक्ष तामाङका अनुसार, उनीहरूले विदेशी भूमिमा व्यहोरेको दुःखलाई सकारात्मक सोचका साथ नेपालमै उपयोग गर्ने दृढता गरेका छन्। “राम्रो कामको नतिजा ढिला हुन्छ तर दिगो हुन्छ,” तामाङको भनाइले उनीहरूको धैर्यता र संकल्पलाई उजागर गर्छ।

रसुवा नागरिक समाजका अध्यक्ष बवुलाल तामाङ भन्छन्, “युवाहरूको यस्तो जोश र प्रयासले सबैलाई सहयोग गर्न उत्प्रेरित गरेको छ।”

आमाछोदिङमो गाउँपालिकाकी उपाध्यक्ष चण्डिका तामाङले युवाहरूको कामलाई उच्च प्रशंसा गर्दै भनिन्, “यस्ता आयमूलक काम गरियो भने विदेश जानुपर्ने बाध्यता हट्नेछ।” वडा २ का वडा अध्यक्ष लाक्पाकामी तामाङका अनुसार, यो प्रयासले सम्पूर्ण गाउँवासीलाई प्रभावित मात्र गरेको छैन, समुदायलाई एकजुट गराउन पनि सफल भएको छ।

रोनस तामाङको नेतृत्वमा सुरु भएको यो अभियान गाउँका लागि मात्र होइन, रसुवा जिल्लाकै लागि अनुकरणीय बनेको छ। आत्मनिर्भरता, मिहिनेत र दीर्घकालीन सोचको महत्व बुझेर उनले गाउँमै रोजगारी सिर्जना गर्ने सपना साकार पार्दैछन्।

युवाहरूले देखाएको यो बाटोले गाउँका बाँझो जमिनलाई उपयोग गर्न र आर्थिक रूपमा सशक्त बन्न सकिने मार्ग स्पष्ट गरेको छ। सानो हाकुका यी युवाहरूको कामले नेपाली समाजमा सकारात्मक परिवर्तनको लहर ल्याउन सक्छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका