बोझिनीको स्थानीय जनताको समस्या र आन्दोलनमा दमनप्रति गम्भीर आपत्ति

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
35 Shares
शंखरापुर

शंखरापुर नगरपालिका वडा नं. ३, बोझीनी क्षेत्रमा चाँगुनारायण सवस्टेशन आयोजनासम्बन्धी कार्यका क्रममा स्थानीय बासिन्दाले उठाउँदै आएका जायज मागहरूलाई बेवास्ता गर्दै प्रशासनद्वारा बल प्रयोग, धरपकड र थुनामा राख्ने जस्ता गतिविधि भएको विषयमा स्थानीय जनप्रतिनिधिहरूले गम्भीर आपत्ति जनाएका छन्।

स्थानीय जनप्रतिनिधिहरूले लोकतन्त्रमा जनताको आवाज सुन्ने र सम्मान गर्ने सरकारको दायित्व रहेको उल्लेख गरेका छन्। तर प्रशासनद्वारा बल प्रयोग गरी डर र त्रास सिर्जना गरिएको तथा जनताको मागलाई बेवास्ता गर्ने गैरजिम्मेवार व्यवहारले उनीहरूलाई गहिरो चिन्तामा पारेको छ।पछिल्लो ५ वर्षदेखि स्थानीयले शान्तिपूर्ण आन्दोलनमार्फत राखेका मागहरू सम्बोधन नगरिएकोमा जनप्रतिनिधिहरूले गहिरो दुःख व्यक्त गरेका छन्। आन्दोलनमा सामेल स्थानीय बासिन्दाहरूले भोगिरहेको कष्ट, भोक, प्यास र आँसुको समस्याको समाधान गर्न सरकारलाई तुरुन्त कदम चाल्न अपील गरिएको छ।

स्थानीय सरकारका जनप्रतिनिधिहरूले निम्न बुँदाहरूमा सम्बोधन गर्न तीन तहका सरकार र सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराएका छन्। आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचारको व्यवस्था तत्काल गरिनुपर्छ। धरपकडमा परेका स्थानीय बासिन्दाहरूलाई निःशर्त रिहा गरिनुपर्छ। जनताको जायज मागहरू वार्तामार्फत सम्बोधन गर्दै समाधानका उपाय खोजिनुपर्छ। परियोजनाका कारण उत्पन्न सामाजिक, वातावरणीय र आर्थिक समस्याहरूको निष्पक्ष छानबिन गरी समाधान गरिनुपर्छ।

यदि दमनको बाटो नरोक्ने र वार्ता मार्फत समस्या समाधान नगर्ने हो भने, जनप्रतिनिधिहरूले आफ्ना जिम्मेवारी स्थगित गरी जनताको पक्षमा आन्दोलनमा सहभागी हुने चेतावनी दिएका छन्। “जनता लोकतन्त्रका आधारस्तम्भ हुन्। तीन तहका सरकारहरूले यो सत्यलाई आत्मसात् गर्दै जनताको मागलाई सम्बोधन गरून्,” विज्ञप्तिमा भनिएको छ। जनप्रतिनिधिहरूले मानवअधिकारको रक्षा र स्थानीय जनताको हित सुनिश्चित गर्न सरकारलाई तत्काल कदम चाल्न आग्रह गरेका छन्।

सम्बन्धित निकाय र सरोकारवाला पक्षहरूलाई तुरुन्त कदम चाल्न अपील।

 

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया