माध्यमिक विद्यालय कक्षा ९ को अनिवार्य नेपाली विषयको पाठ्यक्रममा समेटिएको हाम्रो लोकबाजा पाठमा तामाङ समुदायको लोकबाजासम्बन्धी भएको त्रुटि सच्याएर पुनः प्रकाशन गर्ने निर्णय भएको छ।
बिहीबार नेपाल तामाङ घेदुङका प्रतिनिधि र पाठ्यक्रम विकास केन्द्रका महनिर्देशक इमनारायण श्रेष्ठसहितको बैठकले उक्त निर्णय गरेको हो। बैठकमा तामाङ समुदायको सांस्कृतिक बाजालाई अन्य समुदायको नाममा उल्लेख गरिएको विषयमा सुधार गर्ने सहमति भएको हो।
बैठकले मगर समुदायको डम्फु बाजा र राई किराँत समुदायको टुङ्ना बाजालाई तामाङ समुदायको अमूल्य सांस्कृतिक निधिका रूपमा समावेश गरिने निर्णय गरेका हुन् ।
यसैगरी तामाङ समुदायको बाजा भनिएका ग्यापुङ, सरुङ्गे, र सिनडुङ बाजालाई हाम्रो लोकबाजा पाठबाट हटाइनेछ ।
तत्काल पाठ्यक्रम सुदृढीकरण र परिमार्जन गरी पाठ्यपुस्तक र वेबसाइटमा सच्याइएको संस्करण उपलब्ध गराउने र नयाँ शैक्षिक सत्र २०८२ मा परिमार्जनसहित हाम्रो लोकबाजा पाठ पुनः प्रकाशित गरिने बताइएको छ ।
वाग्मती प्रदेश सांसद एवं पूर्व उपसभामुख राधिका तामाङले नुवाकोट घेदुङको पहलमा नुवाकोटका सीडीओमार्फत गरिएको ध्यानाकर्षण र यस कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ। उनले तामाङ भाषामा बयान दिन पाउने अधिकार कार्यान्वयन गराउन घेदुङको पहिल्यैको प्रयास स्मरण गराउँदै यस्तो महत्त्वपूर्ण निर्णयमा समन्वय गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।
बैठकमा पाठ्यक्रम विकास केन्द्रका महनिर्देशक इमनारायण श्रेष्ठ, योजना शाखा निर्देशक वासुदेव वस्ती, भाषा, शिक्षा तथा सामाजिक शाखा निर्देशक दिननाथ गौतम, नेपाली भाषा अधिकृत कुमार घिमिरे र नवीन खड्का सहभागी थिए।
तामाङ घेदुङको तर्फबाट वाग्मती प्रदेशसभा सदस्य राधिका तामाङ, पूर्व सभासद शान्ति पाख्रीन, उपाध्यक्ष मानबहादुर तामाङ, उपमहासचिव सरोजमोहन मोक्तान, सचिव जयमान वाइबा, भाषा लिपि प्रमुख हिरालाल तामाङ, केन्द्रीय सदस्य उषा वाइबा, नुवाकोट घेदुङ अध्यक्ष वीरबहादुर तामाङलगायतका प्रतिनिधि सहभागी थिए।
बैठकले तामाङ समुदायको सांस्कृतिक पहिचानलाई थप मजबुत पार्दै पाठ्यपुस्तकमा वास्तविकता झल्काउने प्रयासलाई मूर्त रूप दिनेछ ।