पाठेघरको मुखको क्यान्सर सम्बन्धी निशुल्क शिविर

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
182 Shares
रसुवा

रसुवाको गोसाईकुण्ड गाउँपालिका ५ स्याफ्रुबेसि स्थित लाङटाङ लिरूङ अस्पतालमा माघ १२ गते महिला स्वास्थ्यको लागि निशुल्क भिआईए भिजुअल इन्स्पेक्सन विथ एसिटिक एसिड) परीक्षण तथा थर्मल एब्लेसन शिविर सम्पन्न भएको छ। शिविरमा १ सय ५ जना महिलाले स्वास्थ्य सेवा लिएका छन्।

लाङटाङ लिरूङ अस्पतालको आयोजनामा गोसाईकुण्ड गाउँपालिकाको प्राविधिक सहयोग र लायन्स क्लब रसुवाको सहकार्यमा सन्चालित गरिएको थियो । शिविरमा सिविल अस्पताल, वानेश्वर, काठमाडौंमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा। पुनम लामाको नेतृत्वमा महिलाहरूको स्वास्थ्य परीक्षण गरिएको थियो।

डा। लामा अनुसार १ सय ५ जना महिलाको चेकजाँच गर्दा १२ जना महिलामा भिआईए पोजिटिभ देखिएको छ भने ४ जनामा थर्मल एब्लेसन गरिएको छ। जटिल समस्या देखिएका केही बिरामीहरूलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको जानकारी दिइएको छ।

लाङटाङ लिरूङ अस्पतालका सन्चालक डा। जीवन तामाङका अनुसार ग्रामीण क्षेत्रमा महिलाहरू लाजका कारण रोग लुकाएर राख्ने प्रवृत्तिका कारण पाठेघरको क्यान्सर जस्ता समस्या देखापर्छ। यसले धेरै महिलाहरू उमेर नपुग्दै मृत्यु वरण गर्नुपर्ने स्थिति आउने गरेको छ। यही कारण गाउँमै पहिलो पटक यस्तो स्वास्थ्य शिविर आयोजना गरिएको उनले जानकारी दिए।

डा। लामाका अनुसार शिविरमा आएका महिलाहरूमा पाठेघर खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने र सेतो पानी बग्ने समस्याहरू मुख्य रूपमा देखिएका थिए। उनले दुरदराजका महिलाहरू स्वास्थ्य परीक्षण गर्न नडराई खुला रूपमा आउनुपर्नेमा जोड दिए।

यो शिविरले ग्रामीण महिलाहरूलाई स्वास्थ्यप्रति जागरूक बनाउने र नियमित जाँच गराउने प्रेरणा दिने विश्वास लिइएको छ।

 

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका