राष्ट्रिय गौरवका आयोजना समय अगावै सक्न प्रधानमन्त्रीको निर्देशन

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरु निर्धा्रित समय अगावै सक्ने गरी काम गर्न सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखहरुलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘एक्सन रुम’ बाट बुधबार विभिन्न सात आयोजनाको प्रत्यक्ष जानकारी लिई अनुगमन गरेपछि प्रधानमन्त्री ओलीले सो निर्देशन दिएको हो ।

ऊर्जा, जलस्रोत र सिँचाइ र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयसँग सम्बन्धित सात आयोजनाको आज अनुगमन गरिएको थियो । ती आयोजनामा पोखरा र गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल, हुलाकी राजमार्ग, सिक्टा सिँचाइ आयोजना, भेरी बबई बहुद्देश्यीय आयोजना, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना र रानीजमरा सिँचाइ आयोजना छन् ।

ऊर्जामन्त्री वर्षमान पुन, संस्कृतिमन्त्री योगेश भट्टराई, अर्थमन्त्री डा युवराज खतिवडासहित सम्बन्धित मन्त्रालयका सचिव र आयोजना प्रमुखसँग प्रधानमन्त्री ओलीले छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले यसअघि पनि उक्त कक्षबाट विभिन्न आयोजनाको अनुगमन गरेको थियो ।

मन्त्री पुनका अनुसार प्रधानमन्त्री ओलीले गौरव गर्न लायक हुने गरी काम गर्न र कार्यशैली बदलेर तीव्रता दिई तोकिएको समयभन्दा अगावै काम सक्न निर्देशन दिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चालू आर्थिक वर्षको अघिल्लो तीन महिनाको प्रगति र ती आयोजनाको समग्र प्रगति विवरण प्रस्तुत गरेको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया