सोनाम ल्होछार–२८६१ : टुँडिखेलमा २ लाख तामाङ सहभागी हुने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
490 Shares
काठमाडौं

सोनाम ल्होछार–२८६१ डुल/सापुख्री (सर्प वर्ष) उल्लासमय वातावरणमा मनाउन विशेष कार्यक्रम तय गरिएको छ।

सोमबार तामाङ घेदुङको सभाहलमा पत्रकार सम्मेलन गरी यस वर्षको मुख्य समारोह २०८१ माघ १५ देखि १७ गतेसम्म काठमाडौंको टुँडिखेलमा मनाउने तयारी पूरा भएको जानकारी दिएका छन् ।

ल्होछार तामाङ समुदायको सांस्कृतिक जीवनमा मात्र नभई धार्मिक, सामाजिक, आर्थिक र राजनीतिक रूपमा महत्वपूर्ण छ। यो पर्व नयाँ वर्षको आगमनसँगै ग्रहदशा फाल्ने, कूल पूजा गर्ने, घरपरिवारमा मेलमिलाप बढाउने र भव्य सांस्कृतिक कार्यक्रमको आयोजनामार्फत सामूहिकता प्रकट गर्ने पर्व रहेको पत्रकार सम्मेलनमा सोनाम ल्होछार मुल आयोजक समितिका संयोजक मोहन गोलेले जानकारी दिए ।

ल्हो (वर्ष) विभिन्न १२ पशुपक्षीका नामबाट चक्रबद्ध रूपमा निर्धारण हुन्छ। यस वर्ष सर्प वर्ष (डुल ल्हो) परेको छ, जुन काठ खाम (तत्व)सँग सम्बन्धित छ। परम्परागत रूपमा यो वर्ष मुटु, मृगौला, कलेजो जस्ता स्वास्थ्य पक्षहरूसँग प्रत्यक्ष जोडिएको विश्वास गरिन्छ।

यो तीन दिवसीय महोत्सवमा सांस्कृतिक, सामाजिक र धार्मिक कार्यक्रमका साथै तामाङ समुदायको पहिचान झल्कने विशेष गतिविधिहरू समावेश गरिएका छन् ।

माघ १५ गते राष्ट्रपति कार्यालयमा ल्होछार लामा गुरुहरुबाट पुजापाठ गरिनेछ । सोही दिन टुँडिखेलमा साङ्गीतिक साँझ हुनेछ ।

यसैगरी माघ १६ गते साँझ डुक (गरुड) वर्षको बिदाइ र डुल (सर्प) वर्षको स्वागतमा साङ्गीतिक साँझ हुनेछ ।

शान्ति र्‍याली: माघ १७ गते विहान ११ बजे रत्नपार्क शान्तिवाटिकादेखि झाँकीसहित परम्परागत सांस्कृतिक र्‍याली हुने आयोजकले जानकारी दिए ।

यसैगरी सांस्कृतिक प्रस्तुतिमा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा तामाङ सेलो, म्हेन्दोमाया गीत र नृत्य प्रस्तुत हुनेछ ।

त्यस्तै तामाङ समुदायको उत्थानमा योगदान गर्ने व्यक्तित्वहरूलाई राष्ट्रिय सम्मान गरिनेछ ।

कार्यक्रमको दिन स्वास्थ्य शिविर र पुस्तक प्रदर्शनी हुनेछ। परम्परागत तथा आधुनिक स्वास्थ्य सेवा, तामाङ भाषा, संस्कृति, र इतिहासका पुस्तकहरू प्रदर्शन र विक्री गरिने आयोजकले जनाइएको छ ।

मूल आयोजक समितिको नेतृत्वमा १५१ सदस्यीय टिम गठन गरिएको छ। स्टेज सर्पको मुखाकृतिमा डिजाइन गरिनेछ भने इन्डिजिनियस टेलिभिजन र अन्य सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गरिनेछ। समारोहमा प्रत्यक्ष रूपमा दुई लाखभन्दा बढी दर्शकको सहभागिता र अप्रत्यक्ष रूपमा १० लाखभन्दा बढीलाई सांस्कृतिक सन्देश प्रवाह हुने अपेक्षा गरिएको छ।

यस वर्षको मूल नारा ‘मन्जुश्री सम्बत–२८६१ सोनाम ल्होछार भव्य रूपमा मनाऔं, तामाङ भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयनमा अघि बढाऔं’ तय गरिएको छ। यो अभियान तामाङ भाषाको औपचारिक प्रयोगलाई प्रोत्साहन गर्दै समुदायको सांस्कृतिक र राजनीतिक पहिचानलाई सुदृढ बनाउने उद्देश्यले गरिएको हो।

सोनाम ल्होछार–२८६१ (डुल ल्हो) को अवसरमा तामाङ समुदायको जीवनशैली, परम्परा, र संस्कृति झल्काउने यस समारोहले सांस्कृतिक एकता र सहअस्तित्वको सन्देश प्रवाह गर्नेछ।

तामाङ घेदुङ, विभिन्न संघसंस्था र बागमती प्रदेश सरकारको सहकार्यमा आयोजना हुने यो महोत्सवमा सबैलाई सहभागिताको आह्वान छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका