कालिञ्चोक गाउँपालिका–४ स्थित लामिडाँडाको हिलेपानी संस्कृत माध्यामिक विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पुरा गर्दै स्वर्ण महोत्सव मनाउन लागेको छ। विद्यालयले माघ १७ देखि २१ गतेसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरी यो महोत्सव मनाउने तयारी गरेको छ।
विद्यालयका प्रधानाध्यापक भीमकुमार पाण्डेका अनुसार, पाँच दिने यस महोत्सवमा पहिलो दिन सांस्कृतिक कार्यक्रमहरूसहित उद्घाटन हुनेछ । जसको शुभारम्भ जिल्लाका संघीय सांसद गंगा कार्कीले गर्नेछन्। दोस्रो दिन जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता र गाउँपालिका स्तरीय सांस्कृतिक नृत्य प्रतियोगिता हुनेछ। तेस्रो दिन गाउँपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता, चौथो दिन छात्र भलिबल प्रतियोगिता र पाँचौं दिन भलिबल फाइनल, सम्मान तथा पुरस्कार वितरणसहित महोत्सवको समापन हुनेछ।
सह–प्रधानाध्यापक डम्बरबहादुर थामीले विद्यालयले ५० वर्ष पुरा गर्दा शैक्षिक गुणस्तरलाई अझ बढाउने संकल्प गरेको बताए। हिलेपानी माविमा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा संकायमा अध्ययन अध्यापन हुँदै आएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिराज घिमिरेले विद्यालयले समस्या र चुनौतीहरू बाबजुद पनि स्वर्ण वर्ष पुरा गर्न सफल भएकोमा खुशी व्यक्त गरे। विद्यालयमा लामिडाँडा, लापिलाङ र बावरेका १७५ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने १९ जना शिक्षक तथा कर्मचारी कार्यरत छन्।
विद्यालयले २०४८ सालदेखि एसएलसी परीक्षामा विद्यार्थीहरू सामेल गराउँदै आएको छ। तर भौतिक पूर्वाधारको अभावले गर्दा विद्यालयले पठनपाठनमा समस्या झेलिरहेको छ। विद्यालयको २४ सय वर्गमिटर क्षेत्रफलमा ८ कोठे र ६ कोठ पक्की भवन र ट्रस्टका दुई कोठे ४ वटा भवनहरू छन्।
हिलेपानी संस्कृत मावि जिल्लाको पुरानो शैक्षिक संस्था मध्ये एक हो। यो विद्यालय जिल्लाको संस्कृत विषय अध्यापन गराउने एक मात्र शैक्षिक संस्थाको रूपमा स्थापित थियो। तर द्धन्द्धकालमा संस्कृत विषय हटाइएपछि यो विषय हालसम्म पुनः सुचारु रूपमा अध्यापन हुन सकेको छैन।
स्वर्ण महोत्सवको अवसरमा विद्यालयले शैक्षिक उन्नयनका लागि सरोकारवालाहरूलाई सहयोग गर्न आव्हान गरेको छ। यसअनुसार स्थानीय समाजसेवी, बुद्धिजीवी, शिक्षाप्रेमी र अभिभावकहरूले विद्यालयलाई खुलेर आर्थिक सहयोग गरिरहेका छन्। दश हजार वा सो भन्दा बढी आर्थिक वा भौतिक सहयोग गर्ने व्यक्तिहरूको नामावली विद्यालयको स्वर्ण स्तम्भको शिलालेखमा उल्लेख गरिनेछ।
हालसम्मका प्रमुख सहयोगीहरूमा वडाअध्यक्ष दिपक खुलाल (१८,८८८ रुपैयाँ), पूर्वविद्यार्थी सुदिप बस्नेत (३७,१०५ रुपैयाँ), पूर्वविद्यार्थी सन्तोष कार्की (५१,००० रुपैयाँ), प्रधानाध्यापक भीमकुमार पाण्डे (२३,३३३ रुपैयाँ) लगायत अन्य व्यक्तिहरूले विद्यालयलाई सहयोग गरेका छन्।
यसरी हिलेपानी संस्कृत माविले आफ्नो स्वर्ण महोत्सव मनाउँदै शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने संकल्प गरेको छ।