हामी नवौँ वर्षमा

प्रकाशकीय/सम्पादकीय प्रकाशक/सम्पादक
189 Shares
काठमाडौं

मञ्जुश्री सम्वत् २८६१, सोनाम ल्होछार (नयाँ वर्ष), डुल ल्हो (सर्प वर्ष)को उपलक्षमा सम्पूर्ण पाठक, दर्शक, स्रोता, विज्ञापनदाता एवं स्वदेश तथा विदेशमा रहनुहुने ल्होछार प्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूमा सैलुङअनलाइन डट कम परिवार हार्दिक शुभकामना व्यक्त गर्दछ ।

२८६० सोनाम ल्होछार डुक ल्हो (मुपुख्री वर्ष) को समाप्तिसँगै सैलुङअनलाइन डट कमले सूचना प्रवाह कार्य थालेको आठ वर्ष पूरा गरेको छ । २८५२ टे ल्हो (बाँदर वर्ष) शुभारम्भसँगै हो सैलुङअनलाइनले डिजिटल प्लेटफर्मको माध्यमबाट सूचना प्रवाह थालेको हो ।  समय गतिवान् छ, यो रोकेर रोकिन्न। समयको प्रवाहसँगै आफू र आफ्नो कार्यलाई लयबद्ध गर्नुको विकल्प छैन । हिजो जस्तो लाग्छ सैलुङअनलाइनले डिजिटल प्लेटफर्मको माध्यमबाट राष्ट्रिय राजनीति, मुलुकको अर्थराजनीतिक प्रणाली, धर्मनिरपेक्षता, पहिचानका मुद्दा, सामाजिक, सांस्कृतिक, समानुपातिक र समावेशिताको मुद्दालाई आदिवासी विश्व दृष्टिकोणबाट बहस र छलफलको आवश्यकता महसुस गरी आफ्नो यात्रालाई प्रारम्भ गरेको।

सूचना प्रविधि क्षेत्रमा भएको द्रुततम विकाससँगै ग्रामीण दुरदराजमा पनि इन्टरनेटको पहुँच बढ्दै गयो। यही कुरालाई मध्यनजर गर्दै हामीले डिजिटल अनलाइन प्लेटफर्ममार्फत् हाम्रा सामाजिक-सांस्कृतिक अभियान, ज्ञान उत्पादन र विचार निर्माण क्षेत्रमा हाम्रो आफ्नो छुट्टै भाष्य निर्माण गर्न सकिन्छ भन्ने सोचका साथ सैलुङअनलाइन डट कम न्यूज पोर्टल सुरु गर्‍यौँ।

आठ वर्ष पुरा गरेका छौँ। उद्देश्य प्राप्तिका निम्ति, सोच र चिन्तन अनुरूप लक्षित गन्तव्य उक्लिनाका निम्ति उपलब्ध स्रोत, साधन र समय भरपुर उपयोग गरेका छौँ। सफलता र असफलता समयले मूल्याङ्कन गर्ने नै छ।

यस क्षेत्रमा चुनौती बढी‚ अवसर कम पक्कै भएको छ तर समग्र पत्रकारिताभित्र अनलाइन पत्रकारिताको विश्वसनीयता र व्यावसायिकता बढाउने हाम्रो कोसिस रही नै रह्यो, रहने नै छ।

सामान्य प्रविधि र ज्ञानका साथ सुरु गरिएको अनलाइन अहिले प्राविधिक रूपमा परिष्कृत अवस्थामा छ। डिजाइन र आउटलुकमा समय अनुकूल परिमार्जन हुँदै आएको छ । डिजिटल प्लेटफर्ममा टेक्स सँगसँगै भिजुअल सामग्रीको आकर्षण बढ्दो छ। यसको लागि हामी निरन्तर र अधिकतम प्रयासरत छौँ। यसमा हामीले हालै मात्र अडियभिज्युअल रूपमा सैलुङअनलाइन पोडकास्ट शुभारम्भ गरेका छौँ।

सैलुङअनलाइन डट कम स्वयंको प्रयासले मात्र यहाँसम्म आइपुगेको होइन। अनलाइनलाई यो उचाइमा ल्याइपुर्‍याउन दृश्य र अदृश्य धेरै सहयोगी हातहरूको योगदान रहेको छ ।

त्यसैगरी अनलाइनको साजसज्जामा विकाससफ्ट टेक्नोलोजी‚ सञ्जय तामाङ‚ लोगो डिजाइनमा कमल तामाङ, सामग्री निर्माण र प्रकाशन-प्रसारणमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा धेरै शुभचिन्तकहरूको सहयोग रहेको छ।

आगामी दिनमा अझै अनलाइन पत्रकारितालाई विश्वसनीय र पठनीय बनाउने हौसला हामीलाई दैनिक हामीसँग जोडिने पाठकबाट मिलेको छ । हामीलाई व्यक्तिगत रूपमा र आफ्ना व्यापार व्यवसायको विज्ञापन उपलब्ध गराई आर्थिक सहयोग गर्नुहुने व्यवसायीहरूको योगदान अतुलनीय छन् । यी आठ वर्षमा साथ, सहयोग र हौसला दिनुहुने आमपाठक, दर्शक, विज्ञापनदाता, शुभेच्छुक सबैप्रति पुनः डुल ल्होछारको हार्दिक शुभकामना !

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका