दुई छाक खाना र लाउनका लागि विदेशी भूमिमा पसिना बगाउन बाध्य यूवाहरुको नियति जस्तै बनेको समयमा धनकुटामा भने आफ्नै भूमिमा युवाहरु कृषितर्फ अग्रसर भएका छन् । हुनत सरकारी जागिरका रुपमा म्यादी कोष्टको नामले चिनिने प्रधानमन्त्री राहतकोषमार्फत केही यूवाहरु गाउँमै अडिएका छन् । यता छथरजोरपाटी गाउँपालिकाका युवाहरु आफ्ने नाममा व्यवसायिक फार्म दर्ता गरी पशुपालनमा लागेका छन् । उनीहरुलाई यूवा स्वरोजगार कोषले अनुदान दिएको हो ।
वडा नं. १ माग्लुङका विनय बुढाथोकीले जाल्पादेवी बाख्रा फार्म खोली ४० वटा बाख्राबाट पालन सुरु गरेका छन् । स्वरोजगार कोषमार्फत खोर बनाउन १ लाख र उन्नत जातका बाख्रा किन्न ५० प्रतिशत अनुदान उनले पाएका हुन् ।
मैले अनुदान पाएपछि बाख्रा पालन सुरु गरेको हुँ, अझै व्यवसायिक रुपमा यस पेशालाई अगाडि बढाउने अठोट लिएको छु । उनले भने, देशमा व्याप्त बेरोजगारी र विदेश पलायन दुवै समस्यालाई हल गर्ने भनेको कृषि नै हो ।
यसैगरी वडा नं. ५ की कमला लिम्बुले पनि दिदीबहिनी बाख्रा फार्ममार्फत आफ्नो व्यवसाय सुरु गरेकी छन् । उनको फार्ममा अहिले करिब ६० वटा बाख्रा रहेका छन् । उनले पनि युवा स्वरोजगारमार्फत अनुदान रकम र बोयर जातको बोका अनुदानमा पाएका हुन् ।
सोही गाउँपालिकाकै ऋतुवर्ण कटेलले पनि यही पेशा अँगालेका छन् । उनको ऋतुवर्ण बाख्रा फार्ममा अहिले ५ सय ओटा बाख्रा रहेका छन् ।
मोहनसिहं तिगेला लिम्बुको चिसापानी बंगुर फार्ममा ७ वटा बंगुरबाट पाठा उत्पादन सुरु भएको छ । अनुदान र आफ्नो लगानी गरी यो पेशा सुरु गरेको बताउँछन् । लिम्बुले अनुदानको १ लाख र स्वलगानी २ लाख गरी ३ लाखमा फार्म संचालन गरेका हुन् ।
स्थानीय टेन्डी शेर्पा पनि बंगुरपालनमै लागेका छन् । र खगेन्द्र तामाङले गोठ सुधारको कार्यक्रममार्फत पाएको १ लाख अनुदानले पशुपालन सुरु गर्ने भएका छन् । अहिले उनको गोठ निर्माणाधिन छ ।
चालु आर्थिक वर्षमा छथरजोरपाटी गाउँपालिकाले १५ जना यूवाहरुलाई विविध शिर्षमा अनुदान दिएको पशु शाखा प्रमुख राजकुमार राईले बताए । आगामी वजेटमा पनि यस कार्यक्रमलाई निरन्तरता दिइनेछ, राईले भने । यस गाउँपालिका तरकारी र दुग्धजन्य पदार्थका लागि आत्मा निर्भर बनिसकेको छ । अब चाहि मासुजन्य र पशु उत्पादनमा जोड दिने प्रमुख राईले बताए ।