तीन दिने ल्होछार महोत्सव सम्पन्न

ल्होछार मनाउने सबै विधि र प्रक्रियाअनुसार एक दिन सरकारी बिदा पर्याप्त छैन – मुख्यमन्त्री लामा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
175 Shares
काठमाडौं

‘मञ्जुश्री सम्वत-२८६१ सोनाम ल्होछार भव्य रूपमा मनाऔँ, तामाङ भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयनका लागि अघि बढौँ’ भन्ने मूल नाराका साथ काठमाडौँस्थित टुँडिखेलमा मनाइने तामाङ समुदायको नयाँ वर्ष तथा सांस्कृतिक पर्व सोनाम ल्होछार सम्पन्न भएको छ । तीन दिने महोत्सवको बिहीबार अन्तिम दिन टुँडिखेलमा विभिन्न कार्यक्रम गरी ल्होछार सम्पन्न गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले ल्होछार मनाउने सबै विधि र प्रक्रियाअनुसार एक दिने सरकारी बिदा पर्याप्त नभएको बताएका छन् । ‘ल्होछार मनाउने सबै विधि र प्रक्रियाअनुसार एक दिने सरकारी बिदा पर्याप्त छैन,’ मुख्यमन्त्री लामाले भने, ‘ल्होछार टुँडिखेलमा महोत्सव गरेर मनाइने पर्व मात्र पनि होइन । जबसम्म प्रत्येक तामाङको घर घरमा ल्होछारको विधिअनुसार ल्होछार पर्व मनाउने कार्य हुँदैन । तबसम्म साँचो अर्थमा तामाङ जातिको संस्कृति पहिचानको कुरा हुन सक्दैन । ल्होछारलाई सार्वजनिक महत्त्व र कार्यक्रम भन्दा पनि घरभित्रको पर्वको रूपमा स्थापित गर्न समस्त तामाङ समुदायमा आह्वान गर्न चाहन्छु ।’

उनले बागमती प्रदेशमा तामाङ भाषा र नेपाल भाषालाई कामकाजी भाषाको रूपमा कार्यान्वयन गर्नका लागि बजेटको समेत व्यवस्था गरिएको जानकारी गराएका छन् । ‘बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनको दिशामा गएको छ । सुझाव कार्यदलले पेस गरेको सुझाव क्रमिक रूपमा कार्यान्वयन गर्दै जाने भनेर भर्खरै बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकबाट निर्णय समेत भएको छ । अब प्रदेशको सबै कार्यालयमा तामाङ भाषामा साइनबोर्ड लेखिनेछ । लेटरप्याड तामाङ र नेपाल भाषामा बन्नेछ । संसद्मा तामाङ भाषामा बोल्ने माननीयको लागि अनुवादकको व्यवस्था छिट्टै गरिने भएको छ । अब नेपाली र नेवारी भाषा मात्र जान्नेका लागि पनि प्रदेशबाट सेवा प्रभाव हुनेछ । भाषा ऐन कार्यान्वयनका लागि प्रदेश सरकारको बजेट र कार्यक्रमबाट पनि सम्बोधनको प्रयास गरेको छ । भाषा कार्यान्वयनका लागि नेपाल तामाङ घेदुङ र नेवा: देय दबुसँग सहकार्यका लागि एक/एक करोड बजेटको व्यवस्था भएको छ ।’

कार्यक्रममा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले तामाङ समुदायको उपस्थिति बढाउन सबैले लामा र थरको साटो तामाङ लेख्नुपर्न सुझाए । ‘१३ वटा जिल्लामा जनजाति ५६ प्रतिशत छन् । तामाङहरू ३३ प्रतिशत । हामी ४० प्रतिशत पुग्थ्यौँ । नेताहरूले नै तामाङ लेखेनन् । तामाङहरू नेपाल अधिराज्यभरमा एक नम्बर जनजाति हुन सक्थ्यो । तर हामीले रुम्बा, मोक्तान, गोले लेख्दा त्यो अन्यमा गयो,’ ऊर्जा राज्यमन्त्री तामाङले भने । उनले बागमती प्रदेशका १३ जिल्लामध्ये ८ जिल्लाका नेपाली काँग्रेसका सभापतिमा तामाङ सभापति भए पनि आफूबाहेक अरू सबैको थर लामा रहेको बताए । त्यसैगरी उर्जा राज्यमन्त्री तामाङले तामाङ घेदुङ र राष्ट्रिय तामाङ घेदुङ एक हुनुपर्नेसमेत सुझाव दिए ।

कार्यक्रममा बाग्मती प्रदेशका पूर्व संस्कृति मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई घेदुङले वर्ष व्यक्तिको रूपमा सम्मान गरेको थियो । बज्रचार्यकै पालामा तामाङ भाषाले बागमती प्रदेशको सरकारी कामकाजी भाषाको मान्यता पाएको हो । तामाङ भाषा कार्यान्वयनमा भने ढिलाइ भइरहेको तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले गुनासो गरे । ‘नेवार समुदायको मन्त्रीले तामाङ भाषालाई प्रदेशको भाषा बनाउने काम गर्नुभयो । त्यसैले उहाँलाई हामीले वर्ष व्यक्तिका रूपमा घोषणा गर्‍यौ । अब यो कार्यान्वयनको जिम्मा तामाङ मुख्यमन्त्रीको काँधमा आएको छ,’ अध्यक्ष गोलेले भने, ‘तर ढिला भइरहेको छ कार्यान्वयनमा ।’

मूल आयोजक समारोहका संयोजकसमेत रहेका गोलेले काठमाडौँको बोझेनी प्रकरण र आशिका तामाङ पक्राउ प्रकरण बारेसमेत सरकारको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा नेपाल सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिका सदस्य फूलमान बल, गायक मानबहादुर तामाङ, हिमाल आरोही सिद्धिबहादुर तामाङ, कराँते खेलाडी सागर मोक्तान, सहायक महिला प्रशिक्षक सिता तामाङ र प्रदेश प्राविधिक एवं व्यावसायिक शिक्षा तथा तालिम परिषद्, बागमती प्रदेशका प्रमुख कार्यकारी निर्देशक डा शान्ति लामालाई सम्मान गरिएको थियो ।

तीनसम्म मनाइने ल्होछारको पहिलो दिन मङ्गलवार राष्ट्रपति कार्यालय शीतल निवासमा शुभकामना आदानप्रदान गरिएको थियो । दोस्रो बुधवार टुँडिखेलमा तामाङ बोन्बोहरुद्धारा विशेष पूजापाठ, फापरे ह्वाइ प्रस्तुत, घोडचढी र माने नाच सम्पन्न गरिएको थियो । भने ल्होछार इभ अर्थात् डुक (गरुड) वर्षको बिदाइ र डुल (सर्प) वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै राती ६ बजेदेखि ९ बजेसम्म कलाकारहरुद्धारा विशेष सांस्कृतिक कार्यक्रम गरिएको थियो ।

यो पनि

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका