तामाङ समुदायको राष्ट्रिय पर्व सोनाम ल्हाछार (ल्होछार) धुमधामसँग मनाइएको छ। सेलो नेटवर्क, तामाङ जुहारी कलाकार संघ र सेवा फिल्मस्को संयुक्त आयोजनामा शुभकामना आदानप्रदान र साँस्कृतिक कार्यक्रमहरू आयोजना गरी नयाँ वर्ष २८६१ डुल ल्हो (सा–पुख्री) को स्वागत गरेका छन्।
गोकर्णेश्वर नगरपालिका अन्तर्गत जोरपाटीचोकमा आयोजित मुख्य कार्यक्रममा तामाङ समुदायका बुद्धिजीवी, तम्बा, कलाकार, पत्रकार तथा स्थानीय नेतृत्वको उल्लेख्य सहभागीता रह्यो।
कार्यक्रममा लामा गुरु, ताम्बा र बोम्बोको विशेष पूजापाठ गरिएको थियो भने तामाङ समुदायको मौलिक कला, संस्कृति, रितिरिवाजलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू समेत प्रदर्शन गरिएको थियो।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख दीपककुमार रिसाल, उपप्रमुख सान्नानी लामा, बलेफी गाउँपालिका उपाध्यक्ष सरू तामाङ लगायत तामाङ समुदायका अग्रज व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
यसैगरी, ह्याङ्ला रिमठिम डम्फू संघ, दाङबोला ग्योइ रिमठिम, नेपाल तामाङ मौलिक ह्वाइला न्हान संघ, तामाङ जुहारी कलाकार संघ लगायतले तामाङ समुदायको कला, संस्कृति, भाषा, इतिहास र पहिचानलाई झल्काउने विभिन्न प्रस्तुतिहरू राखेका थिए।
चर्चित गायिका इन्दिरा गोले, लाक्पा तेन्जिङ शेर्पा, आरवी सिङदान, चित्रबहादुर जिम्बा, छितिज बल, निरूता राई, प्रेमा शेर्पा चौटत, बैरागी च्याङ्बा लगायत कलाकारहरूले आफ्ना प्रस्तुतिहरूद्वारा कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका थिए।
कार्यक्रममा उपस्थित अतिथिहरूले गोकर्णेश्वर नगरपालिका स्तरीय ल्होछार शुभकामना तथा साँस्कृतिक कार्यक्रमले एकता, सद्भाव र सहकार्यको भावनालाई समेट्न सफल भएको बताएका छन्। उनीहरूले यस्ता आयोजनाहरूले स्थानीय तहमा ल्होछारको महत्व बढाउन मद्दत गरेको पनि जनाए।
गोकर्णेश्वर नगरपालिका लगायत विभिन्न संघसंस्थाको सहकार्यमा आयोजित यस कार्यक्रमले तामाङ समुदायको सांस्कृतिक विरासतलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।
सोनाम ल्हाछारको यस अवसरमा तामाङ समुदायले आफ्नो सांस्कृतिक पहिचानलाई मनोरञ्जनात्मक र सृजनात्मक तरिकाले प्रस्तुत गर्दै एकता र सद्भावको सन्देश दिएका छन्।