सेफ प्रेमलाल घिसिङको निधन भएको छ। करिब अढाइ वर्षदेखि क्यान्सर रोगबाट थलिएका घिसिङको सोमबार दिउँसो निधन भएको हो।
दोलखा जिल्ला शैलुङ गाउँपालिका वडा नं. १ दूधपोखरीका स्थायी निवासी घिसिङ रेक्टम क्यान्सरबाट पीडित थिए। मेडिकेयर अस्पताल चाबहिलमा उपचार चल्दै आएको घिसिङ उपचार असम्भव भएपछ पछिल्लो समय निवासमै थलिएका थिए। कोटेश्वमा बस्दै आएका घिसिङलार्इ पन्ध्रदिन यता रोगले निकै च्याप्दै लग्यो र सोमबार दिउँसो ११ बजे उनको निधन निवासमै भएको थियो।
सेफ घिसिङ रैथाने खाना संरक्षणका अभियन्त थिए। उनले नेपालका विभिन्न जातजातिहरूका मौलिक खाना वा रैथाने खानाको खोजिमा लागि १०१ दने अभियान नै चलाएका थिए। यही क्रममा उनेले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थुप्रै आदिवासी जनजातिहरूको पाककला र परिकार बारे अध्ययन गरेका थिए।
राजधानीका विभिन्न कलेजहरूमा कन्टिनेन्टल, इन्डियन, चाइनिजलगायत फुडबारे अध्ययन अध्यापनमा सङ्लग्न घिसिङको गहिरो रूची आदिवासी जनजातिहरूको मौलिक खाना रेस्टुरेन्ट देखि तारे होटलहरूको प्लेटमा पस्किनेमा थियो।
उनकै नेतृत्वमा २०७९ सालमा हिमालयन हस्पिटालिटी अवार्ड कार्यक्रमको समेत आयोजना भएको थियो । नेपालमा सत्कार पेसामा काम गर्नेलाई सम्मानसहित नेपाली खानाको मेलाको सुरुआत पनि उनैकै नेतृत्वमा भएको थियो। घिसिङको तामाङ खाना सम्बन्धि पुस्तक (०७८) प्रकाशित छ।