पोर्चुगलमा बसोबास गर्ने तामाङ समुदायले फेब्रुअरी २ तारिखमा ऐतिहासिक ल्होछार पर्व धूमधामले मनाएका छन्। तामाङ समाज पोर्चुगलद्वारा आयोजित मञ्जुश्री संवत २८६१ सोनाम ल्होछार डुल ल्हो (सा–पुख्री) को अवसरमा तामाङ लगायत गैर तामाङहरू एक ठाउँ भएर सांस्कृतिक परम्परा र पर्वलाई हर्षोल्लासका साथ मनाएका हुन् ।
ल्होछार तामाङ समुदायको महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । जुन नयाँ वर्षको सुरुवातलाई चिन्हित गर्दछ। यस अवसरमा समुदायका सदस्यहरूले परम्परागत पोसाक लगाएर नाचगान, सांस्कृतिक कार्यक्रम र धार्मिक अनुष्ठानहरू सम्पन्न गरे।
कार्यक्रममा गायक मिलन लामाको बेजोड साङ्गीतिक प्रस्तुतिले मनोरञ्जन दिलाएका थिए । साथै स्थानीय कलाकारहरूले तामाङ समुदायको मौलिक पहिचान झल्कने सांस्कृतिक प्रस्तुति, नृत्य, गीत तथा परम्परागत झाँकीहरू प्रदर्शन गरिएको थियो। आयोजक संस्थाका अनुसार विभिन्न सामाजिक र सांस्कृतिक गतिविधिहरूको माध्यमबाट कार्यक्रमलाई अझ रौनकपूर्ण बनाएको समाजका अध्यक्ष गोपाल योन्जनले जानकारी दिए ।
कार्यक्रममा पोर्चुगलमै रहेका गायक रामबाबु योन्जन, रमित लामा, कुन्साङ लामा, पुष्पा वाइबा, सोनाम योन्जन, रामकृष्ण तामाङ, बुद्ध योन्जन, च्याङ्बा तामाङ र पूर्ण तामाङले प्रस्तुति दिनेछन् । त्यस्तै गायिका गीता लामा र भारती लामा, डिजे अशोक लामा र फरी तिवारीले बेजोड प्रस्तुति दिएको थियो ।
त्यसैगरी ल्होछार कार्यक्रममा कोरियोग्राफर डान्सर विशाल लामा, मन्सु लामा दोङ, रोशनी तामाङ, दुईडकल तामाङ, सपना छन्त्याल, सुनिता तामाङ, सम्झना जिम्बा, पूजा मोक्तान, लिज्जी कार्की, गङ्गा रुम्बा, रोहन योन्जन, सानी शेर्पा, आड याङ्गे शेर्पा, मुस्कान शेर्पा लामा, आङ निगमा कान्छी, सपना बोम्जन र राजेन्द्र डिम्दुङले नृत्य प्रस्तुत गरेका थिए ।
पोर्चुगलको राजधानी लिस्बनमा आयोजित कार्यक्रममा तामाङ समुदायका युवायुवतीहरू र बालबालिकासमेत उपस्थित थिए।
पोर्चुगलमा बसोबास गर्ने तामाङ समुदायले आफ्नो सांस्कृतिक पहिचान कायम राख्दै स्थानीय समाजसँग आत्मसात् भएको छ। ल्होछार जस्ता पर्वहरू मार्फत उनीहरूले आफ्नो संस्कृति र परम्परालाई अर्को पुस्तासम्म पुग्न सफल भएका छन्।
समाजका अध्यक्ष योन्जनका अनुसार संस्थाले यस खाले कार्यक्रमले तामाङ समुदायलाई आफ्नो सांस्कृतिक जरा र परम्परासँग जोड्ने मात्र नभई, नेपाली संस्कृति र चाडपर्वको महत्त्वलाई विश्वभर फैलाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए ।
कार्यक्रमको अन्त्यमा समुदायका नेतृत्वकर्ताहरूले सबैलाई नयाँ वर्षको शुभकामना दिँदै आफ्नो संस्कृति र एकतालाई अझ बलियो बनाउने आह्वान गरे। यसरी पोर्चुगलमा तामाङ समुदायले ल्होछार पर्व मनाउँदै आफ्नो सांस्कृतिक विरासतलाई जिउँदो राखेको छ।