पोर्चुगलमा राष्ट्रिय तामाङ घेदुङद्वारा भव्य सोनाम ल्होछार : संस्कृति, एकता र उत्साहको अनुपम संगम !

नवराज तामाङ
नवराज तामाङ संवाददाता
1267 Shares
लिस्बन, (पोर्चुगल)

नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलले मञ्जुश्री सम्बत् २८६१ सोनाम ल्होछार (डुल ल्हो) सा पुख्री ल्होको अवसरमा शुभकामना आदानप्रदान तथा बृहत् साँस्कृतिक गरी ल्होछार मनाएका छन् ।

आईतवार राजधानी लिस्बनमा ‘राष्ट्रिय पर्व सोनाम ल्होछार राष्ट्रको शान, भाषा, धर्म संस्कृति हाम्रो पहिचान’ भन्ने नाराका साथ बिदेशी भूमिमा यो पर्व मनाइएको हो ।

घेदुङका अध्यक्ष इमानसिंह तामाङका अनुसार, यस कार्यक्रमले तामाङ समुदायको सांस्कृतिक विरासत, परम्परा र एकतालाई अन्तर्राष्ट्रिय मंचमा उजागर गर्ने महत्वपूर्ण भूमिका खेलेको छ ।

कार्यक्रममा चर्चित म्हेन्दोमाया तथा तामाङ सेलो गायिका रमला पाख्रिन, सेलो गायक प्रदिप लामा र गायक कुमार योञ्जनले विशेष सांगीतिक प्रस्तुति दिएका थिए। साथै, तामाङ समुदायको संस्कृति झल्कने विशेष साँस्कृतिक झलकहरु पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै युवा उद्यमी तथा समाजसेवी विजय मोक्तानले संसारको जुनसुकै कुनामा पुगेपनि तामाङ समुदायले आफ्ना धर्म, संस्कृति, परम्परा, चाडबाडलाई भुल्न नहुने बताए। उनले तामाङ समुदायले आफ्नो संस्कृति र परम्परालाई संरक्षण गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा पनि यसलाई प्रदर्शन गर्नुपर्ने आवश्यकता बताए ।

यस अवसरमा एनआरएनए पोर्चुगलका संस्थापक अध्यक्ष पूर्णबहादुर हमाल, पोर्चुगलका लागि पूर्व पर्यटनदूत रमेशकुमार गुरुङ, एनआरएनए पोर्चुगलका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, आईसीसी सदस्य सूर्य हमाल, एनआरएनए पोर्चुगलका अध्यक्ष दिपा काफ्ले, वुमन एसोसिएसनका उपाध्यक्ष गीता रेउलेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

तामाङ अक्षयकोषको स्थापना गर्ने उद्धेश्यका साथ आयोजना गरिएको यस कार्यक्रममा पोर्चुगलमा क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधि, समाजसेवी, व्यवसायी तथा पोर्चुगलबासी तामाङ तथा गैर तामाङ नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो। यसले नेपाली समुदायबीचको एकता र सहकार्यलाई बढावा दिने काम गरेको छ ।

घेदुङ पोर्चुगलले यस्ता कार्यक्रमहरु मार्फत नेपाली संस्कृति र परम्परालाई संरक्षण गर्ने, प्रवर्धन गर्ने, र अन्तर्राष्ट्रिय स्तरमा नेपालीहरुको पहिचान बनाउने लक्ष्य राखेको छ ।

सोनाम ल्होछारको यो पवित्र अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै सांस्कृतिक एकताको साथ अगाडि बढ्ने अपेक्षा गरिएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका