जसले विद्यालय जोगाए उनैबाट शिक्षक सम्मानित हुँदा …   

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
56 Shares
काठमाडौं

विसं २०१८ को प्रवेशिका ९एसएलसी० परीक्षा गोरखा सदरमुकाममा रहेको शक्ति माध्यमिक विद्यालयका लागि अविस्मरणीय रह्यो । त्यस वर्ष कुनै पनि विद्यार्थी एसएलसीमा उत्तीर्ण नभए विद्यालय घटुवामा पर्ने निश्चित थियो । मावि तहको अनुमति नै खारेज हुन सक्थ्यो ।

विद्यार्थी अनुत्तीर्ण भए विद्यालय घटुवामा पर्ने भएपछि सदरमुकामको शैक्षिक मात्र होइन प्रशासनिक क्षेत्रमासमेत छटपटी थियो । के गर्ने, कसो गर्ने भनेर खैलाबैला चलिरहेको थियो । कहिलेकाहीँ अभिभावक र विद्यार्थी दुवैले ल्याउने खुसी सधैँ अविस्मरणीय हुने गर्दछ । यस्तै खुसी लिएर आएको थियो छात्रा कल्पना पाण्डे ।

विद्यालयलाई प्राण दिने पहिलो इतिहास कायम भयो पाण्डेका नाममा । हाल ८२ वर्ष पुग्नुभएकी पाण्डेले २०१८ सालको एसएलसी उत्तीर्ण गरेर विद्यालयको छवि उजिल्याएको थियो । त्यसयता शक्ति मावि पछि परेको छैन, गोरखामै एक प्रतिष्ठित विद्यालयका नामले निरन्तर प्रगतिउन्मुख छ ।

यस पटक तिनै पूर्व विद्यार्थी पाण्डे विद्यालयका पुराना तीन जना प्रधानाध्यापकलाई सम्मान गर्न प्रज्ञा–प्रतिष्ठान पुगेको थियो । सोही विद्यालयका पूर्व विद्यार्थी समूहले शनिवार राजधानीमा आयोजना गरेको समारोहमा प्रधानाध्यापकत्रय बाबुराम श्रेष्ठ, रामचन्द्र आचार्य र गोवर्द्धन आचार्यलाई ताम्रपत्रसहित सम्मान गरिएको थियो ।

हाल ८२ वर्ष पुगेका पूर्व प्रधानाध्यापक रामचन्द्रले २०१६ सालदेखि उक्त विद्यालयमा सेवा गरी २०४३ देखि २०५७ सालसम्म १४ वर्ष प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

त्यस्तै, १९९७ सालमा जन्मनुभएका गोवर्द्धनले २०१९ सालदेखि शक्ति माविमा सेवा गरी २०५५ सालमा अवकाशमा गएको थियो । १९९९ सालमा जन्मनुभएका अर्का शिक्षक श्रेष्ठले भने २०१५ देखि उक्त विद्यालयमा सेवा गरिएको थियो । शिक्षक र प्रधानाध्यापकको जिम्मेवारी निर्वाह गरिएका श्रेष्ठले २०२५ सालमा अवकाश लिएको थियो ।

सम्मान समारोहमा सोही विद्यालयका पूर्व विद्यार्थी शारदाप्रसाद धितालले २०३२ सालमा एसएलसी दिएका पुराना सहकर्मीहरूको खोजी गर्दै जाने क्रममा विस्तार हुँदै गएको पूर्व विद्यार्थीको समूहले गुरु सम्मान प्रारम्भ गरेको जानकारी दिइन् ।

ऐतिहासिक दरबार हाइस्कूलबाट गोरखाली चेलीहरूले पञ्चेबाजा बजाउँदै साजसज्जासहितको विशेष मोटरमा राखेर तीन प्रधानाध्यापकलाई नगरपरिक्रमा गराउँदै प्रज्ञा भवनको सिद्धिचरण सभाकक्षमा अभिनन्दन गरिएको थियो । कार्यक्रम संयोजक तथा श्री शक्ति एलुम्नाई एसोसिएसनका निवर्तमान संयोजक मेघबहादुर मास्केले गौरवपूर्ण इतिहास बोकेको विद्यालय र गुरुहरूको योगदानको उच्च कदर गर्दै नयाँ संस्कार सुरु गरिएको बताए ।

कार्यक्रममा शैक्षिक क्षेत्रका अगुवा डा वसन्तचन्द्र मरहट्ठाले चेलाहरूसँग गुरुहरू डराउनुपर्ने समयमा ज्येष्ठ नागरिक भएका विद्यार्थीबाट अग्रज गुरुहरूको सम्मान हुनु आफैँमा पवित्र कार्य भएको बताए ।

सोही विद्यालयका पूर्व विद्यार्थीहरू हाल नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्ष प्रा डा लेखनाथ शर्मा, शैक्षिक अगुवा प्रेमबहादुर थापा, मीनप्रसाद भट्टराईले समाजका लागि नैतिकवान्, चरित्रवान्, कर्मठ,र सुयोग्य नागरिक बनाउन गुरुहरूको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरे ।

कार्यक्रममा भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्माले लिखित शुभकामना सन्देशमार्फत गुरुहरूले देखाएको गोरेटो आफूहरूको गन्तव्य तय भएको जनाए । उनले पनि सोही विद्यालयमा अध्ययन गरिएको थियो ।

कार्यक्रममा सम्मानित व्यक्तित्वले यो उमेरमा पूर्व विद्यार्थीहरूले सम्मान गरेकामा आफूहरूले सही संस्कार दिएको अनुभूति भएको बताए । उनीहरूले भने, “जीवन एउटा सिकाइ हो, निरन्तर चलिरहन्छ, जो जहाँ जुन हैसियतमा पुगे पनि धरातल भने बिर्सनु हुँदैन ।”

कार्यक्रममा राष्ट्रियसभा सदस्य तथा सोही विद्यालयका विद्यार्थी किरणबाबु श्रेष्ठ र नेपाली काँग्रेस नेत्री सृजना सिंहले आज पनि आफूहरू विद्यार्थी नै रहेको अनुभूति भएको सुनाए । उनीहरूलाई प्रदान गरिएको सम्मान पत्रमा भनिएको छ, “हजुरजस्ता गुरुलाई कृष्ण, अर्जुन र एकलव्यले जस्तो गुरु दक्षिणा अर्पण गर्ने क्षमता नभए पनि श्रद्धाका अभिनन्दन गर्दछौँ । ”

गोरखा जिल्लाका पुराना विद्यालयमध्ये एक शक्ति माध्यमिक विद्यालय २००९ सालमा स्थापना भएको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका