बौद्ध जागरण केन्द्रद्वारा आयोजित दुई दिवसीय पाँचौँ लुम्बिनी बौद्ध विश्व शान्ति मोन्लाम पाठ सम्पन्न भएको छ। बौद्ध धर्म गुरू क्याब्जे गोसोक रिन्छेनज्यूबाट वाङ प्रदानसँगै मोन्लाम सम्पन्न भएको हो।
भगवान गौतम बुद्धको जन्मस्थान लुम्बिनी स्थित मायादेवी मन्दिर परिसरमा आयोजित मोन्लाम पाठ कार्यक्रमको पहिलो दिन हिजो माघ २९ गते मङ्गलबार क्याब्जे गोसोक रिन्छेन र धर्म गुरू लोसाङ नाम्ग्याल रिन्पोछेज्यूबाट मोन्लान पाठसँगै बौद्ध धर्मदेशना भएको थियो। साथै कार्यक्रममा धर्म गुरू खेन्पो सर्वजित गोङ्बाबाट लुम्बिनी तिर्थको महत्व र फार्इदाबारे धर्मदेशना भएको थियो। दिनभरीको मोन्लाम पाठसँगै साँझ भने मायादेवी मन्दिरको उत्तरतर्फ रहेको शान्तदिप परिसरमा दिपप्रज्वलन भएको थियो।
समस्त प्राणीजगतको हितार्थ विगत पाँच वर्वदेखि निरन्तर रूपमा आयोजना गर्दै आइरहेको मोन्लाम कार्यक्रमको दोस्रो दिन आज माघ ३० गते क्याब्जे गोसोक रिन्छेनज्यूबाट वाङ अभिषेकबारे धर्मदेशनासँगै वाङ प्रदान गरियो। वाङ कार्यक्रममा पछि मोन्लाम कार्यक्रमका लागि सहयोग गर्ने दानपतीहरूलार्इ आयोजकको तर्फबाट मायाको चिनो प्रदान गरी सम्मान समेत गरिएको थियो।
मोन्लाम कार्यक्रममा दोलखा, रामेछाप, सिन्धुपाल्चोक, ओखलढुङ्गा, सोलु, सिन्धुली, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवालगायत जिल्लाहरूबाट मणि छोक्पा समूह, गुम्बाका प्रतिनिधिहरू, उपासक तथा उपासिकाहरू गरी सातसय भन्दा बढीको सहभागिता रहेको थियो।