रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका वडा नं. ६ मा अवस्थित, नेपालको एक ऐतिहासिक, सांस्कृतिक, र धार्मिक महत्त्व बोकेको स्थान हो। यो ठाउँ आफ्नो रोमाञ्चक इतिहास, घले राजाको उत्पत्ति, र तामाङ समुदायको समृद्ध संस्कृतिको लागि प्रसिद्ध छ। धुन्चेको पुरानो नाम दुङलाङ हो, जसको अर्थ ‘शङ्ख ठडिएको ठाउँ’ हो।
घले राजाको उत्पत्ति र दुङलाङको कथा
परापूर्व कालमा गोरखाको बारपाकमा एक जना घले राजा (ग्याल्वो) थिए। उनका धेरै छोराहरू थिए। राजाले आफ्ना छोराहरूलाई उपयुक्त स्थानमा पठाउन चाहन्थे। उनले आफ्ना छोराहरू मध्ये एकलाई बोलाएर भने, ‘म मन्त्र गरेर यो शङ्खलाई यहाँबाट फाल्छु। यसलाई खोज्दै जानु र जहाँ शङ्ख फेला पर्छ, तिमी त्यही ठाउँको राजा भएर राज्य चलाउनु।’ यसपछि राजाले शङ्खलाई आकाशमा उडाइदिए।
राजाका छोरा ठिसुम देप्के घलेले आफ्नो बाबुले फालेको शङ्ख खोज्दै बारपाकबाट धादिङको तिम्लिङ हुँदै हालको धुन्चे पछाडिको ब्राबल पुग्दा अग्लो भिरको टुप्पोमा शङ्ख फेला पारे। यसैले यस ठाउँको नाम दुङलाङमो राखियो, जसले गर्दा पछि दुङलाङ नाम प्रसिद्ध भयो। ठिसुम देप्केले शङ्ख पाएपछि आफूलाई राजा घोषणा गरेर गोङगाङ भन्ने स्थानमा दरबार बनाए। उनले थोक्रा वंशका तामाङलाई काजी पद दिए। तितुङ वंशका तामाङले बोम्बो र झाँक्री भएर काम गर्न थाले।
गोङगाङ दरबार र घले राजाको शासन
घले राजाको दरबार गोङगाङमा बनाइएको थियो। यो दरबार सडक निर्माण गर्दा असावधानीका कारण भग्नावशेषमा परिणत भएको छ। यो दरबार कृषि, बागबानी, फार्म, र चरन विकास जाने पासाङल्हामु राजमार्गमा अवस्थित छ। दरबार माथि छुर्तेन (तामाङ संस्कृतिको पवित्र स्थल) निर्माण गरिएको छ।
धुन्चेको सांस्कृतिक महत्त्व
धुन्चे बजारमा दुई प्रकारका घलेहरूको बसोबास छ: बोङजो घले र ग्याल्दाङ घले। घलेहरू मुख्यतया चार प्रकारका छन्: सामरी घले, रिल्दी घले, ग्याल्दाङ घले, र डागे घले। बोङजो घले र ग्याल्दाङ घलेहरूले राँगो, भैँसी, गाई, बङ्गुर, सुँगुर, लसुन, ध्यापी आदि खाँदैनन्। बोङजो घलेको दरबार दुई हजार वर्ष भन्दा पुरानो छ । जोङचेत भन्ने ठाउँमा अवस्थित छ। यो दरबार ग्याल्दाङ घलेहरूको पराजय पछि जीर्ण अवस्थामा परेको थियो।
बोङजो घलेको उत्पत्ति
बोङजो घलेको उत्पत्ति भार्खु गाउँको याङकार जोङ क्षेत्रबाट भएको मानिन्छ। याङकार जोङ दरबारका राजा पाल्देन छिरिङ घलेका छोरा हुन्। याङकार जोङ दरबारमा शत्रुहरूले छोरा हालेपछि सानो बालकलाई धुन्चे माइती भएकी राजाकी आमा र हजुरआमाले काठको बाकस भित्र भेडाको उनले गुटमुटाएर लुकाई बचाएकी थिइन्। तिनै बालकले ठुलो भएपछि धुन्चेको जोङचेतमा दरबार बनाएर बसेको कुरा बढापाखाहरूले बताउँछन्।
धुन्चेको संस्कृति र परम्परा
धुन्चे गाउँमा तामाङ संस्कृतिको धरोहर अझै जीवित छ। यहाँ बोन्पो धर्मको सुरुवात पनि सृष्टि सँगै भएको मानिन्छ। हालै धुन्चे गाउँले नयाँ बोन्पो (झाँक्री) हरू पाएका छन्। उनीहरूले २१ दिन सम्म जङ्गलमा गुफामा बसेर ध्यान गरेका थिए। धुन्चे गाउँमा नयाँ युवाहरू लामा बन्नका लागि गुफा बसिरहेका छन्।
धुन्चे बजारमा रेडपाण्डा पार्क र सङ्ख पार्क निर्माण गरिएको छ। यसले गर्दा यो ठाउँ पर्यटकहरूका लागि आकर्षक बनेको छ। तर पुराना माने छुर्तेनहरूको संरक्षणमा ध्यान दिन आवश्यक छ। धुन्चे गाउँ वरपर रहेका माने छ्योर्तेन लगायतका पुरातात्त्विक तामाङ संस्कृतिको खोजी गरेर जीवन्त राख्न कम्मर कस्न जरुरी छ।
धुन्चे नेपालको एक महत्त्वपूर्ण ऐतिहासिक, सांस्कृतिक, र धार्मिक स्थल हो। यस ठाउँले घले राजाको उत्पत्ति, तामाङ संस्कृति, र बोन्पो धर्मको समृद्ध इतिहास बोकेको छ। यसको संरक्षण र प्रचारप्रसार गर्न आवश्यक छ ताकि आगामी पुस्ताहरूले आफ्नो संस्कृति र इतिहासबाट परिचित हुन सकुन्।