रसुवामा “नेवा देय दवु” को कार्य समिति गठन

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
1057 Shares
रसुवा

रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. ५ बेत्रावती बजारमा माघ २९ गते नेवार समुदायको छाता संगठन “नेवा देय दवु” रसुवा जिल्ला कार्य समिति गठन भएको छ। यस समितिको अध्यक्षमा सोमलाल लवट चयन भएका छन्।

यसैगरी वरिष्ठ उपाध्यक्षमा अर्जुन श्रेष्ठ, महिला उपाध्यक्षमा निर्मला श्रेष्ठ, महिला सचिवमा ईन्दिरा श्रेष्ठ, पुरुष सचिवमा शशि डंगोल, कोषाध्यक्षमा गणेश श्रेष्ठ रहेका छन्। सदस्यहरूमा गोपी श्रेष्ठ, भुवन डंगोल, आशिक डंगोल, जमुना श्रेष्ठ र अन्जु लवट रहेका छन्।

रसुवा जिल्ला भित्र छरिएर रहेका नेवार समुदायलाई एकै ढिक्कामा संगठित गर्न, नेवार भाषा, भेषभूषा, कला, संस्कृति, सम्पदा, जात्रा परम्परा लाई जिवन्त राख्न यो कार्य समिति गठन गरिएको हो। नवगठित कार्य समितिका सचिव शशि डंगोलले यसको उद्देश्य र महत्वबारे जानकारी दिँदै भने, “रसुवा जिल्लामा बसोबास गर्ने नेवार समुदायलाई संगठित गरी आफ्नो संस्कृति र परम्परालाई संरक्षण गर्न यो समिति गठन गरिएको हो।”

रसुवा जिल्लामा काठमाडौं, ललितपुर, भक्तपुरबाट चिन-तिब्बत व्यापारको शिलशिलामा नेवार समुदायका बासिन्दाहरू स्थायी रूपमा बसोबास गर्दै आइरहेका छन्। जिल्लाको नौकुण्ड गाउँ र पाको सरमथली गाउँमा नेवार समुदायको बढी बसोबास रहेको छ। यसबाहेक बेत्रावती, कालिकास्थान, धुम्ती, जिवजिवे, काभ्रे, ठाडे, धुन्चे, स्याफ्रुवेसी, थाम्बुचेत, टिमुरे जस्ता ठाउँहरूमा पनि नेवार समुदायको बसोबास रहेको छ।

नवनिर्वाचित अध्यक्ष सोमलाल लवटले संगठनको भविष्यका योजनाहरूबारे जानकारी दिँदै भने, “ढिला भए पनि रसुवामा नेवार समुदायको पहिचानलाई खोज्न यो समिति गठन भएको हो। आगामी दिनहरूमा जिल्ला भरका नेवारहरूलाई संगठित गरी सबैलाई सदस्यको रूपमा विस्तार गरिनेछ। हाम्रो संस्कृति, भाषा, र परम्परालाई संरक्षण गर्ने हाम्रो मुख्य लक्ष्य हो।”

नेवार समुदायले नेपालको समृद्ध सांस्कृतिक विरासतलाई बोकेको छ। उनीहरूको भाषा, कला, संगीत, नृत्य, जात्रा, र परम्पराहरू नेपाली संस्कृतिको अभिन्न अंग हुन्। रसुवा जिल्लामा बसोबास गर्ने नेवार समुदायले पनि आफ्नो संस्कृति र परम्परालाई जिवन्त राख्न ठूलो भूमिका खेलिरहेका छन्। यसैले यो संगठनले नेवार संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

रसुवा जिल्लामा नेवार समुदायको छाता संगठन “नेवा देय दवु” को गठनले जिल्लाभर बसोबास गर्ने नेवारहरूलाई एक ठाउँमा संगठित गर्ने महत्वपूर्ण पहल हो। यसले नेवार संस्कृति, भाषा, र परम्परालाई संरक्षण गर्न मद्दत गर्नेछ। आगामी दिनहरूमा यो संगठनले रसुवाको सांस्कृतिक विविधतालाई अझ समृद्ध बनाउने अपेक्षा गरिएको छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया