चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
28 Shares
चितवन

चितवन यहाँका चिकित्सक दम्पतीले सञ्चालन गरेको डाक्टर अजय, डाक्टर सरू फाउन्डेसनले देवघाटका १८ जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेको छ । देवघाट गाउँपालिकाका चार वडाका १० विद्यालयमा अध्ययनरत ती बालबालिकाको अभिभावकत्व ग्रहण गरिएको हो ।

साइराम डेन्टल केयरका सञ्चालकद्वय डा अजय न्यौपाने र डा सरू थापाले स्थापना गर्नुभएको सो फाउन्डेसनले विपन्न बालबालिकाको अभिभावकत्व ग्रहण गरेको हो । ती बालबालिकालाई फाउन्डेसनले शिक्षा, स्वास्थ्यसँगै अन्य आवश्यक पर्ने विषयमा सहयोग पु¥याउने जनाएको छ ।

फाउन्डेसनले ती बालबालिकालाई झोलासहित स्टेसनरी सामग्री, पोसाक, खेल र स्वास्थ्यका सामग्री वितरण गरेर अभिभावकत्व ग्रहणको सुरुआत गरेको हो । फाउन्डेसनका सञ्चालक डा न्यौपानेले ती बालबालिकाले उच्च शिक्षामा चिकित्सक, इन्जिनियरिङलगायतका महत्वपूर्ण विषय अध्ययन गर्न सकेमा त्यसमा समेत सहयोग गर्ने गरी अभिभावकत्व ग्रहण गरिएको बताए।

यसरी छनोट गरिएका बालबालिका ५ देखि १२ वर्षका छन् । ती बालबालिका कोही बाबु र कोही आमा नभएका विपन्न रहेको देवघाटस्थित कालिका आधारभूत विद्यालयका भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष विकास ढकालले बताए।

चिकित्सक दम्पतीले साउनको अन्तिम साता फाउन्डेसनको घोषणा गरेपछिको यो तेस्रो कार्यक्रम हो । दम्पतीले अक्षयकोषमा १० लाख रुपैयाँ र सञ्चालन खर्च १० लाख रुपैयाँ विनियोजन गरेर काम अघि बढाएको हो । क्रमशः रकम थप गर्दै लगिने डा थापाले बताए । थापाले अभिभावक गुमाएका विपन्न परिवारका बालबालिकालाई अभिभावक नभएको महसुस हुन नदिन अभिभावकत्व ग्रहण गरिएको बताए।

फाउन्डेसनले बालबालिकाको दाँतमा समस्या आउन नदिन निःशुल्क सिल चितवन (किरा लाग्न सुरु गरेको दाँतमा सिमेन्ट भर्ने) अभियान पनि चलाइरहेको छ । उनीहरुले फाउन्डेसन स्थापना अघि पनि ग्रामीण क्षेत्रमा पुगेर निःशुल्क क्याम्पमार्फत दाँतको उपचार गराउँदै आएको थियो । संस्थागत रुपमा काम गर्ने उद्देश्यले आफ्नै लगानीमा फाउन्डेशन स्थापना गरिएको हो । डा न्यौपाने भरतपुर अस्पतालको दन्त विभागका विभागीय प्रमुख हुन् । डा थापाले निजी क्षेत्रबाट साइराम डेन्टल केयर सञ्चालन गर्दै आएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया