तामाङ उखान संग्रह ‘तामाङ आन’ बिमोचन गरिएको छ। रुबीभ्याली गाउँपालिका अध्यक्ष रामसिंह तामाङ, गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त लामा र खनियाबास गाउँपालिकाका उपाध्यक्ष सेक्केमान तामाङले धादिङबेँसीमा एक कार्यक्रम बिच सयुक्त रूपमा पुस्तकको बिमोचन गरेका हुन्।
धादिङ जिल्ला खनियाबास गाउँपालिका दार्खा निवासी बाबुराम फ्युबा तामाङद्वारा लिखित ५२ पृष्ठको ‘तामाङ आन’मा १ सय ४८ ओटा उखान टुक्काहरू सङ्कलित छन्। सङ्ग्रहमा उत्तरी धादिङ लाप्साङकर्पो हिमाल आसपास बसोबास गर्ने तामाङ समुदायमाझ प्रचलित तामाङ उखानहरू सङ्कलित छन्।
पुस्तक बिमोचन पश्चात कार्यक्रममा मान्तव्य राख्दै नेपाल तामाङ घेदुङ धादिङका अध्यक्ष दिपक तामाङले तामाङ आदिवासी जनजातिको भाषा र संस्कृतिको संरक्षणमा उखान सङ्ग्रह पुकाशनले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
तामाङ लोकजीवन, भोगाइ, संस्कृति र जिवन यापन बारे भन्दै र सुन्दै आएका उखानहरु लोप हुनबाट बचाउनका लागि तामाङ र अङ्ग्रेजी भाषामा उखानहरुलाई सङ्कलन गरी पुस्तकार दिइएको लेखक फ्युबाले बताए।
पुस्तक हार्ड कपीमा मात्र होइन डिजिटल संस्करण पनि उपलब्ध रहेको छ। यसका लागि पुस्तकको अन्तिम कभरमा क्युआर कोड राखिएको छ। क्युआर कोड स्क्यान गरेर पाठकहरूले पुस्तकको इलेक्ट्रोनिक पेज पढ्न सक्ने छ भने अडियो सुन्न चाहनेका लागि अडियो भर्सन समेत उपलब्ध रहेको छ।