लाङटाङ राष्ट्रिय निकुञ्जले माघ १ गतेदेखि जेठसम्म अप्रेसन संरक्षण ११ सुरू गरेको छ। यस अभियानको मुख्य उद्देश्य निकुञ्ज क्षेत्रभित्र हुने अवैध गतिविधि तथा चोरी सिकार रोक्नु, वन्यजन्तुको अवैध आवतजावत नियन्त्रण गर्नु र दुर्लभ वन्यजन्तु तथा वनस्पतिको संरक्षण गर्नु हो। यसले संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याएको निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहले जानकारी दिए ।
यो अभियान निकुञ्जको कार्यक्षेत्र रहेका रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा संचालन हुनेछ। रसुवाको नौकुण्डको लाङबु, नुवाकोटको नेगी र सिन्धुपाल्चोकको बैकुण्ठेमा अभियान संचालन भइरहेको छ। यसका लागि अस्थायी संयुक्त पोष्ट संचालन गरी गस्ती गरिएको छ।
लाङटाङ राष्ट्रिय निकुञ्ज २०३२ साल चैत ९ गते स्थापना भएको हो। यो निकुञ्ज रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको १,७१० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। निकुञ्जको मध्यवर्ती क्षेत्र २०५५ साल बैशाख १४ गते धोषणा भएको हो र यसको क्षेत्रफल ४१८.३० वर्ग किलोमिटर छ।
निकुञ्ज अन्तर्गत २१ वटा मध्यवर्ती उपभोक्ता समिति र १९१ वटा मध्यवर्ती क्षेत्र उपभोक्ता समूहहरू छन्। साविकका ३४ वटा गाउँ विकास समितिमा फैलिएको निकुञ्जको मध्यवर्ती क्षेत्र पहिलो स्थानीय तहको निर्वाचन पश्चात् रसुवामा ४ वटा, नुवाकोटमा ३ वटा र सिन्धुपाल्चोकमा ४ वटा गाउँपालिका गरी कुल ११ वटा गाउँपालिका पर्दछन्।
यसरी लाङटाङ राष्ट्रिय निकुञ्जले वन्यजन्तु तथा वनस्पतिको संरक्षण गर्ने महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।