रसुवाको कालिका गाउँपालिका वडा नम्बर २ कालिकास्थानमा ८३ जनाले रक्तदान गरेका छन् ।
फागुन ७ गते ७५ औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा कालिका हिमालयन एसएलसी २०५६ ब्याजले आयोजना गरेको हो । नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवाको सहकार्यमा पाँचौं खुल्ला रक्तदान कार्यक्रम गरिएको थियो ।
आयोजक टिमले यस कार्यक्रमको मुख्य उद्देश्य रगतको अभावमा हुने अकालमा मृत्यु रोक्ने र समुदायमा रक्तदानको महत्व बारे जागरूकता फैलाउने बताएका छन्। उनीहरूले दुर्गम क्षेत्रमा बसोबास गर्ने ग्रामीण जनतालाई पनि रगतको आवश्यकता पर्ने र यसको अभावमा कसैको पनि ज्यान जान नदिने संदेश दिएको जनाएको छ ।
यस अवसरमा एसएलसी २०५६ ब्याजका निशान गजुरेलले यो पुण्य कार्यको थालनी गरेको बताए । उनले समुदायलाई रक्तदानको महत्व बारे अवगत गराउँदै यस्ता कार्यक्रमहरू निरन्तरता दिन आवश्यक रहेको बताए।
कार्यक्रमले स्थानीय समुदायमा रक्तदानप्रति सकारात्मक प्रभाव पारेको छ । भविष्यमा पनि यस्ता कार्यक्रमहरू जारी रहने आयोजक टिमले जनाएका छन्।